संसद्ले रोकेन, अदालतले रोक्यो

विहीबार, २३ फागुन २०७५, ०७ : ३२
संसद्ले रोकेन, अदालतले रोक्यो

धनगढी । कारगारबाट झिकाएर प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराइएका रेशम चौधरीलाई अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । साढे तीन वर्षपहिले टीकापुरमा एक नाबालक र एसएसपीसहित ८ प्रहरीको हत्यामा संलग्न भएको ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

 ‘अदालतको फैसलाबाट हामी सन्तुष्ट भएका छौं’, टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउदका ६६ वर्षीय हजुरबा जंगबहादुर साउदले भने, ‘फैसलाले न्याय पाएको महसुस भएको छ ।’
कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले टीकापुर घटनामा संलग्नलाई फरकफरक सजाय ठहर गर्दै बुधबार फैसला सुनाएको हो । पीडितका आफन्त मानबहादुर बोहरालगायतले ५८ जनाविरुद्ध मुद्दा दर्ता गरेकोमा २७ जना पुर्पक्षका लागी थुनामा थिए । उक्त मुद्दाका ३१ जना आरापित फरार छन् । अदालतले फरार रहेकाको कारबाही मुल्तबीमा राखेको छ ।

पुर्पक्षका लागि थुनामा रहेका २७ जनामध्ये ११ जनालाई हत्यामा संलग्न भएको ठहर गर्दै जन्मकैद सुनाएको छ । घटनाको नेतृत्व रेशम चौधरीले गरेको भन्दै उनलाई जन्मकैद सुनाइएको छ । यसैगरी जन्मकैद सुनाइनेमा हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी र गंगाराम डगौरा चौधरी छन् । श्रवण चौधरीलाई भने १६ वर्षमुनिको बालक देखिएकाले आधा सजाय ९१० वर्ष कैद० हुने फैसलामा उल्लेख छ ।

‘प्रतिवादीहरू लक्ष्मण थारु (चौधरी) र लाहुराम चौधरीको मत सल्लाहमा रेशमलाल चौधरीसमेतले नेतृत्व गरी टीकापुरस्थित सरकारी कार्यालयमा थरुहट लेख्ने योजना बनाई सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई मारी आन्दोलनलाई हिंस्रक बनाउने योजनाका साथ गाउँका भलवन्सा चौकिदारलाई गाउँगाउँका खटाई गाउँगाउँबाट हतियारसहित व्यक्तिहरूलाई जम्मा गराएको’ फैसलामा उल्लेख छ । ‘टीकापुर–९ स्थित पशुहाटबजारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई भाग्न र उम्कन समेत नपाउनेगरी ‘सी’ आकारको घेरा हाली बोकेर ल्याएको घरेलु हतियार भाला, लाठा, खुँडा, बन्चरा, तरबारलगायतले निर्ममतापूर्वक प्रहार गरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसमेतका ८ सुरक्षाकर्मी र एकजना बालकलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले मुलकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बरबमोजिम जन्मकैदको सजाय हुने ठहर्छ’, फैसलामा उल्लेख गरिएको छ । यो समाचार आजको नागरिकमा छ । 

प्रतिक्रिया दिनुहोस