माघेसंक्रान्ति मेला

चिसोको कारण देवघाटधाममा मकर स्नान गर्ने भक्तजन घटे

सोमबार, ०१ माघ २०७४, १२ : ३२
चिसोको कारण देवघाटधाममा मकर स्नान गर्ने भक्तजन घटे

देवघाटधाम । हरेक वर्ष माघेसंक्रान्तिका दिन थामीनसक्नु भीड लाग्ने देवघाटधाममा यसपटकको माघेसंक्रान्ति मेलामा मकर स्नान गर्न आउने भक्तजनको संख्यामा कमी आएको छ । बढ्दो चिसोको कारण देवघाटधाममा नुहाउन आउने भक्तजन घटेका हुन् ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले चिसो बढेको कारण पुस मसान्तिमा देवघाटधाममा आएर माघ संक्रान्तिमा स्नान गरेर फर्कने भक्तजनको संख्यामा कमी आएको बताए । माघे संक्रान्तिकै दिन बिहान नुहाउन आउने भक्तजनहरु भने नघटेको पौडेलको भनाइ छ । यसवर्ष माघ दुई गते औँसी परेकोले भक्तजनहरु मंगलबार पनि देवघाटधाममा स्नानका लागि आउने बताउँदै पौडेलले दुई दिनमा करिब चार लाख भक्तजन देवघाटधाममा आउने बताए ।
माघेसंक्रान्तिका दिन देवघाटधामस्थित त्रिशुली र कालीगण्डकी नदीको संगम वेणीमा नुहाउनाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । देवघाटधाममा माघेसंक्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आउने गर्छन् । देवघाटधाममा धुमपान, मांस, मदिरा एवम् सुर्तीजन्य पदार्थ ओसारपसार र सेवन निषेध गरिएको छ ।
समितिका अध्यक्ष पौडेलले वेणी स्नानका लागि आउने भक्तजनको भीड व्यवस्थापनसँगै देवघाट मेलालाई व्यवस्थित बनाइएको बताए । ‘झोलुङ्गे पुल जीर्ण भइसकेकोले पुलमा हिँड्दा भक्तजनहरुलाई नरोकिइकन पंक्तिवद्धरुपमा हिँडुन अनुरोध गरेका छौँ’ अध्यक्ष पौडेलले भने, ‘पुलको विकल्पमा त्रिशुली नदी तरेर वेणी पुग्न प्रशस्त मात्रामा डुङ्गाको व्यवस्था गरिएको छ ।’
देवघाट मेलामा आउने भक्तजन नठगिऊन् भनेर समितिले डुङुगाभाडा एकातर्फी २५ रुपैयाँ तोकेको छ । यसैगरी समितिले सवारी पार्किङ, चिया, कफी र पानीको समेत दररेट तोकेको छ । सवारी व्यवस्थापनको लागि वानवे रुट निर्धारण गरेको छ । मेला सम्पन्न गर्न समितिका अध्यक्ष पौडेलको संयोजकत्वमा एक सय ५१ सदस्यीय मेला व्यवस्थापन मूल समिति गठन गरिएको छ । 
माघेसंक्रान्तिकै अवसरमा देवघाटधामस्थित गलेश्वर आश्रमको आयोजनामा सन्त सम्मेलन र लक्ष्य हवन चलिरहेको छ । आइतबार बिहान देवघाटधामस्थित गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरिजी महाराजबाट वेणीमा धार्मिक विधिपूर्वक लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको उद्घाटन भएको थियो ।

प्रतिक्रिया दिनुहोस