टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सारियो

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, १६ : ३४
टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सारियो

काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव पोष्टमार्टमका लागि समय लाग्ने भएपछि आज टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सारिएको छ । शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो ।

तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको हो । सबै शवको पोष्टमार्टम गर्न समय लाग्ने भएपछि श्रद्धाञ्जलीको समयसमेत लम्बिएको नेकपा केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।  

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस