हेलिकप्टर दुर्घटनामा भाग्यले बाँचे तेह्रथुमका सांसद विजय सुब्बा

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १७ : ०६
हेलिकप्टर दुर्घटनामा भाग्यले बाँचे तेह्रथुमका सांसद विजय सुब्बा

चितवन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा भाग्यले बाँचेका छन् तेह्रथुमका सांसद विजय सुब्बा । आफ्नो जिल्लामा विमानस्थल बनाउन उनले निकै प्रयास गरेका थिए। पर्यटनमन्त्री अधिकारीसँग अनुरोध पनि गरेका थिए। अवलोकनका लागि जाँदा आफू पनि सँगै जान खोजेका रहेछन् उनी। बुधबार मन्त्री अधिकारीसँग फोन सम्पर्क हुन नसकेपछि स्वकीय सचिव राजेन्द्र आचार्यलाई फोन गरेर भनेका थिए, ‘म पनि जान्छु है।’
आचार्यले थोरै सिटको हेलिकोप्टर भएकाले सिट मिल्यो भने खबर गर्ने बताएका थिए। उनी बिहीबार बिहानसम्म आचार्यको फोन कुरिरहे। तर, फोन आएन।
केही समयपछि उनले ‘सिट’ अभावका कारण सँगै लैजान नसकेको जानकारी मन्त्री अधिकारीका तर्फबाट प्राप्त गरे।
साढे ११ बजेदेखि राज्य व्यवस्था समितिमा नागरिकता विधेयक प्रतिवेदनमा छलफल थियो। उनी त्यतै लागे। जिल्लामा विमानस्थल बनाउने कुरामा उनको चासो थियो। स्थानीयसँग सम्पर्क गरिरहे। तर, कार्यक्रमकै समयमा राज्य व्यवस्थामा बैठक पर्‍यो।
समाचार सुनेपछि आफ्नो जिल्ला तेह्रथुमको चुहानडाँडामा विमानस्थल सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारीसहित नागरिक उड्ययन व्यवसायी तथा प्राविधिक समूह गएको उनले समिति बैठकमा उपस्थित सांसद र पत्रकारलाई जानकारी गराए। ‘यस्तो दुस्खद् खबर सुन्दा मन थामिन सकेको छैन,ु सांसद सुब्बाले भने, ‘अन्तिम समयमा हेलिकप्टरको सिट प्याक रहेको जानकारी पाएपछि म जान पाएको थिइनँ।’
सुरुमा दुर्घटना परे पनि सबै सकुशल रहेको खबर पाउने आश सबैमा थियो। उनी पनि आशामा सिंहदरबारमा नै कुरिरहे। जिल्लामा फोन गरिरहे। जिल्लाबाट तीन वर्षमा एयरपोर्ट बनाएरै छाड्ने वाचा गरेको खबर आयो।
मन्त्री अधिकारीले विमानस्थल बन्ने लगभग पक्का भएको बताएर गएको स्थानीय एक व्यक्तिले सुनाए उनलाई। उनले सुस्केरा हाल्दै भने, ‘वाचा गर्ने मन्त्रीज्यूको अवस्था के होला ?’

प्रतिक्रिया दिनुहोस