‘किसान सचेत हुनुपर्छ’

आइतबार, १२ फागुन २०७५, २१ : ३३
‘किसान सचेत हुनुपर्छ’

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले विषादी र रासायनिक मल प्रयोग कम गर्न किसान सचेत हुनुपर्ने बताउनुभएको छ । ‘खाद्य मेला–२०७५’ को समापन कार्यक्रममा देशमा उत्पादित अर्गानिक उत्पादनलाई ‘ब्राण्ड’ गर्न सकियो भने त्यसबाट धेरै फाइदा हुने उहाँले औँलाउनुभयो

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खाने बानीमा सुधारका लागि मेलाले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आम उपभोक्तालाई सजग बनाउन अरू जिल्लामा समेत मेलाको आयोजना हुनेछ ।”

विभागले चौथो पटक आयोजना गरेको मेलालाई मन्त्रालयका सचिव युवकध्वज जिसीले शुक्रबार उद्घाटन गर्नुभएको थियो । मेलामा जम्मा ४५ स्टल रहेको विभागले बताएको छ । विभिन्न उद्योगले उत्पादन गरेका खाद्यन्नको १५, खाद्य प्रविधि विषय पढाइ हुने कलेजको २२ र अचार, जाम, पाउरोटीलगायत खाद्यन्न उत्पादन गर्ने साना उद्योगका १८ स्टल रहेको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस