वडाध्यक्षद्वारा महिलामाथि कुटपिट

बुधबार, ०८ फागुन २०७५, २० : २७
वडाध्यक्षद्वारा महिलामाथि कुटपिट

रुकुम । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका– ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गर्नुभएको छ ।

निर्माणाधीन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षले जयपुरालाई कुटपिट गरेको बताइएको छ । वडाध्यक्षले आफूमाथि मोटरसाइकलको हेल्मेट प्रहार गरेको र ढुङ्गा भएको ठाउँमा धकेलीदिएको पीडित जयपुराले बताउनुभयो । कुटपिटले शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको छ ।

अहिले उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उहाँ महिला विकास कार्यालयले गठन गरेको तत्कालीन पारालिगल समितिका सदस्यसमेत हुनुहुन्थ्यो । आफूमाथि कुटपिट भएपछि बुढाले इलाका प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । तर इलाका प्रहरी कार्यालयमा वडाध्यक्षले छलफल गर्न नमानेपछि उहाँले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ । यस घटनाबारे आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस