लुट्न सके लुट कान्छा लुट्न सके लुट

बुधबार, ०८ फागुन २०७५, १२ : २७
लुट्न सके लुट कान्छा लुट्न सके लुट

– वीरेन्द्रमणि पौडेल

यो देशमा कहिलेकाहीँ कुनै कुनै विषयले चाहिने भन्दा ज्यादै चर्चा पाउँछ । त्यो चर्चाले यो देशलाई आजसम्म खासै फाइदा  भएको देखिएन तर नोक्सानी भने भएको छ । सानोसानो विषय वा शीर्षकलाई तानतुन पारेर ठूलो र फराकिलो किन बनाइन्छ यो देशमा त्यो खोजीको विषय त बनेको छनै, यस्ता चाहिनेभन्दा बढ्दा हल्ला गरेर देशमा अशान्ति मच्चाउने र बेफ्वाँकमा धनजनको क्षति पु¥याउने काम पनि भएकै छन् बेलामौकामा ।

सबैभन्दा पहिला यो देशमा एकपटक ऋतिक रोशन काण्ड घट्यो । कसैले हल्ला चलायो कि भारतीय सिनेमाका कलाकार ऋतिक रोशनले आफ्नो अन्तर्वार्तामा नेपाललाई होच्याएर बोले । चितवनको माटोमा कुनै एक जनाले त्यो खालको कुरा बताएपछि दुईचार जना युवाहरु रिसाए । रिसाएका दुईचारजनाले थप दुईचार जनालाई भने । यही तरिकाले एकले अर्कोलाई भन्दै जाँदा धेरैजनाले ऋतिक रोशनको विरोध गर्न थाले । भरतपुरमै केही युवा मिलेर ऋतिक रोशनको पुत्ला जलाए । भारतीय चर्चित कलाकारको पुत्ला जलेपछि पत्रपत्रिकामा समाचार छापियो । त्यो समाचारको प्रभाव बढ्यो र ऋतिक रोशनको विरोध हुनेक्रम बढ्दै गयो । जुलुश निस्कियो । ऋतिक रोशन मुर्दावाद भनियो । आन्दोलन बढ्दै गएपछि थेग्नका लागि सरकार गोली चलाउन बाध्य भयो र गोली लागेर यो देशमा एकदुईजना युवा मारिए ।

नेपालमा ऋतिक रोशनको नाममा आन्दोलन भएर मान्छे नै मारिएको समाचार आएपछि भारतीय समाचार माध्यममा पनि समाचारहरु आउन थाले । भारतमा पनि चर्चा हुन थालेपछि ऋतिक रोशनलाई भारतीय पत्रकारहरुले नेपालबारे तिमीले के बोलेका थियौ र तिम्रो यति चर्को बिरोध भइरहेको छ ? प्रश्न सोधे । ऋतिक रोशनले एकैछिन घोरिएर जवाफ दिए “खै कुन्नी मलाई यसबारे केही थाहा छैन, म कसैकाबारे किन नकारात्मक बोलुँ ?” पत्रकारले फेरि दोहो¥याएर सोधे “के नभनेको भए नेपालमा तिम्रो यति धेरै विरोध त नहुनु पर्ने ?” यसपछि ऋतिकले मैले केही नराम्रो बोलेको भए प्रमाणित गर्न भने । बुझबुझारथ भयो । छानविन भयो । आखिर पत्ता लाग्यो ऋतिक रोशनले नेपालबारे केही बोलेकै रहेनछन् । कुनै मानसिक रोगी वा ठट्टा गर्न मन पराउने कुनैले ऋतिक रोशनले आफ्नो अन्तर्वार्तामा नेपाललाई हेपेको बताएका रहेछन् । त्यही कुरा मान्छेहरुले ज्यादा तन्काएर प्रचार गर्दा आखिरमा कसैको ज्यान समेत गयो । फोकटमा देशले नोक्सानी ब्यहोर्न प¥यो ।

अर्को पनि योसँग मिल्दोजुल्दो घटना छ । बेरोजगारी समस्याका कारण पिल्सिएका नेपाली युवाहरु मध्ये इराक पुगेका १२ जनाको हत्या भएको भिडियो सार्वजनिक भयो । कसैले कसैलाई मार्नु कुनै पनि कोणबाट जायज मान्न सकिन्न । त्यो हत्या हामी सबै नेपालीको लागि दुखद विषय थियो । देशले युवालाई रोजगारी दिन नसक्नु कमजोरी थियो । हाम्रो दुखले हाम्रा भाइहरुलाई त्यहाँ जोखिम मोल्न पु¥याएको थियो । तर त्यहाँका मानवताको मूल्य नबुझेका मान्छेहरुले हाम्रा भाइहरुलाई मारे । यो हत्याको कुटनीतिक तरिकाले भत्र्सना गर्नुपथ्र्यो । आउने दिनहरुमा हाम्रा नेपाली दाजुभाइलाई त्यता नजाने वातावरण सिर्जना गर्नतर्फ लाग्नु बुद्धिमानी हुन्थ्यो तर विरोधको नाममा राजधानी काठमाण्डौमा खासगरी वैदेशिक रोजगारीका लागि खोलिएका म्यानपावर सप्लायर्सका कार्यालयहरु तोडफोड र आगजनी गरियो । करोडौं धनमाल नोक्सानी गरियो ।

इराकमा हामी नेपाली माथि अन्याय त गरिएकै थियो यता नेपालमा समेत हामी आफैंले तोडफोड गरेर भौतिक क्षति पु¥यायौं । यसो गर्नु कुनै पनि कोणबाट बुद्धिमानी थिएन । गल्ती गरियो । कुनै पनि काम गर्नुभन्दा अघि विचार पु¥याएर परिणामबारे हिसाब गरेर मात्रै काम गर्नु बुद्धिमानी हुन्छ । रिस उठ्ने बित्तिकै तोडफोडमा उत्रिनु कुनै पनि कोणबाट हितकर हुँदैन । तर त्यतिबेला पनि देशभित्र राम्रो काम गरिएन । नोक्सानी हुने काम मात्रै गरियो ।

अहिले फेरि एउटा “लुट्न कान्छा लुट्” भन्ने एउटा केटाको गीतलाई चाहिने नचाहिने तरिकाले ठीक र बेठिक भन्ने बहस सिर्जना गरेर तमासा देखाइएको छ । गीतको सार खासै नयाँ छैन । यो देशमा जसले सक्छ उसले लुट्छ । लुट्नेहरुलाई कानुनी कार्बाही हिजो भएन, आज भएको छैन उस्तै परे भोलि पनि यो देशमा आर्थिक भ्रष्टाचार गर्नेहरुलाई कानुनी कार्बाही हुने छैन भन्ने खालको आशय छ । शब्द छनौटमा भने कमजोरी नभएको होइन । शायद अति दासत्व स्वीकारेकोले हुनसक्छ वा चाहिने कुरामा कार्यकर्ताले पनि विरोध जनाउनुपर्छ भन्ने चाहनाद्वारा प्रभावित भएर हुनसक्छ, राजनीतिक दलहरुका कार्यकर्ताहरुलाई कुकुर भन्ने शब्द प्रयोग गरिएको छ । सम्भव हुन्थ्यो भने मान्छे देउतासम्म बन्न चाहन्थ्यो होला । त्यो सम्भव नभएर काम कमसल गरेपनि चाहना भने असल नै बन्ने हुने हुँदा र कुकुरलाई गाईभैंसी वा भेडाबाख्रा जस्तो गुनिलो जीव मानिँदैन । यही कारणले मान्छेलाई कुकुरसँग दाँज्ने बित्तिकै मान्छे रिसाउँछ । जसले गीतमा दलका कार्यकर्तालाई कुकुर भन्ने शब्दले सम्बोधन गरे तिनै गीत गाउने व्यक्तिलाई कसैले कुकुर जस्तो गायक भनिदियो भने तिनलाई पनि चित्त दुखाइ हुन्छ वा मनमा रिस पैदा भइहाल्छ । यो भावनात्मक कुरा हो । यहाँनेर पशुपति मान्छेको भावना बुझ्ने मामलामा चिप्लिएका छन् । तिनले मान्छे जातिको भावनालाई गहिराइमा गएर बुझ्ने चेष्टा नगरेको देखिन्छ ।

यसो भनेर राजनीतिक दलका कार्यकर्ताहरु ज्यादै रिसाउनु पर्छ वा आक्रोसित हुनुपर्छ भन्ने पनि केही छैन । चित्त दुखाएको अबस्थामा कसैले केही भन्दा अरुप्रति आक्रोशित नभइ सामान्य लिन पनि सकिन्छ । यसलाई ज्यादा नतन्काउन पनि मिल्छ । फेरि कुनै एउटा मात्रै राजनीतिक दलको कार्यकर्तालाई भनेको भए रिसाउन पनि सुहाउँथ्यो । कार्यकर्ता भनिएकोमा खासै आपत्ति जनाउन आवश्यक देखिँदैन । फेरि गायककार पशुपतिले कुनै पार्टीको झण्डा आफूले जानीजानी नराखेको बताइसकेका छन् । अरुको कारणले यस्तो भएको स्पष्टिकरण समेत दिइसकेका छन् ।
अर्को गल्ती कहाँनेर भएको छ भने पशुपतिले राष्ट्रपतिले डेढ अर्बको हेलिकप्टर चढ्छिन् भनेका छन् । “चढ्छिन्” भन्दा स्त्रीलिंगलाई संकेत गर्छ । यसको अर्थ बहालवाला राष्ट्रपति विद्या भण्डारीलाई चिनिन्छ । यसोभन्नुचाहीँ बिलकुल गलत हो । किनकी राष्ट्रपति एउटा संस्था हो । यो संस्थालाई आँच आउने काम वा बोली कसैले गर्न र निकाल्न हुँदैन भन्ने विश्वव्यापी मान्यता छ । फेरि आलंकारिक राष्ट्रपतिले कुनै काम आफूखुशी नगर्ने हुँदा गल्ती गर्ने सम्भावना रहन्न । सक्रिय भएर कुनै गल्ती गरेको अबस्थामा हरेक नागरिकलाई विरोध गर्ने छुट हुन्छ लोकतन्त्रमा तर गीतभित्रको आशय सिधै राष्ट्रपति विद्या भण्डारी बुझिने हुँदा त्यो भनाइ गलतै हो भन्न मिल्छ ।

राष्ट्रपतिलाई गरिएको सम्बोधन र कुकुर भन्ने शब्दलाई छाडेर पशुपति नामका नेपाली नागरिकले गाएका “लुट्न कान्छा लुट्” माथि खोट लाउने ठाउँ कहीँ कतै देखिन्न । सत्य त यही हो आज यो मुलुकमा जताततै लुट छ । लुट रोख्न खडा गरिएको अख्तियार आयुक्त समेत भ्रष्टाचारी भएको यो देशमा जताततै छन् भ्रष्टाचारी । सक्नेले यो देशमा विहानदेखि बेलुकासम्म लुटेको लुट्यै छन् । नसक्ने वा नचाहनेहरु टोलाएर हेरेको हे¥यै छन् । छिमेकी देश चीनमा आर्थिक भ्रष्टाचारीहरुलाई कडा कानुनी कार्बाही स्वरुप “मार्ने” कानुन छ । कर छल्ने र अकुत सम्पत्ति जोड्नेलाई अर्को छिमेकी देश भारतमा समेत कडा कानुनी कार्बाही गरिन्छ तर नेपालमा आजसम्म अपवादलाई छाडेर कुनै पनि आर्थिक भ्रष्टाचारीहरु दुई महिना जेल समेत बस्न परेको छैन । यही अवस्थालाई संकेत गरेर ती पशुपति नामका भाइले “लुट्न सके लुट कान्छा” भन्ने प्रतिकात्मक विरोधका शब्दहरु नेपाली नागरिक समाजको माझमा पठाएका हुन् । फेरि तिनले यो वर्तमान सरकारलाई मात्रै दोष दिएका होइनन् ।

धेरै लामो समय अघिदेखि यो देशमा आर्थिक भ्रष्टाचार हुने गरेको तर्क उनले प्रष्ट्याएका छन् । पशुपतिको यो गीतबाट कोही आत्तिन वा मात्तिन पर्दैन । सामान्य शब्द छनौटमा भएको कमजोरीको आलोचना गर्न नमिल्ने होइन तर यो गीतको विरुद्धमा कोकोहोलो मच्चाउनभने कुनै पनि हालतमा जायज हुन्न । फेरि यस्तो मामुली विषयलाई चर्काउँदै जानेहोभने पुरानो दुर्घटना दोहोरिन पनि सक्छ । यसतर्फ यतिबेला चेतना वृद्धि भइसकेका तमाम नेपालीहरु सजग र सचेत हुन जरुरी छ । सबैले बुझ्नुपर्छ “यो लोकतन्त्र हो । यहाँ आफूलाई मर्यादाभित्र रहि बोल्न छुट छ ।” कतै अमर्यादित महसुस भए त्यसको समाधान पनि सजिलोसँग गर्न सकिन्छ । यस्ता साना विषयहरुलाई अनावश्यक रुपमा चाहिनेभन्दा ज्यादा कसैले पनि कहिल्यै पनि तन्काउन हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस