हिमपातका कारण लाखौँको सेतो चिनी कुहियो

सोमबार, ०६ फागुन २०७५, २० : ०२
हिमपातका कारण लाखौँको सेतो चिनी कुहियो

खलङ्गा । जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ ।

जुम्लामा यही माघ महीनामा परेको हिमपातका कारण लाखौँको खिरौँला कुहिएको व्यापारीले बताएका छन् । पुसमा सङ्कलन गरी सुकाउन राखिएको खिरौँला हुर्किएका कारण गुठीचौर गाउँपालिकाका झण्डै ४० जना व्यापारीले लाखौँको क्षति बेहोर्नु परेको हो ।

लेकमा सुकाउन राखिएको खिरौँला हिमपातले कुहिएको गुठीचौर गाउँपालिका–१ गडिगाउँका व्यापारी दीपबहादुर बुढाले जानकारी दिए । आफ्नो मात्रै झण्डै ३० क्विन्टल खिरौँला हिमपातका कारण कुहिएको उनको भनाइ थियो ।

लगातार परेको हिमपातले सुकाउन राखेको खिरौँला कुहिएकाले व्यापारीहरु घाटामा परेको बुढाको भनाइ थियो । प्रतिक्विन्टल ५० देखि ६० हजार रुपैयाँसम्म खिरौँला बिक्री हुने गर्छ ।

बुढाका अनुसार करीब १२ लाख जतिको खिरौँला कुहिएको भन्दै लगानी उठाउन पनि मुस्किल भएको दुःखेसो पोख्नुभयो । खिरौँला प्रतिकेजी ५ देखि ६ सय रुपैयाँमा जुम्लामा किनबेच हुने गरेको छ ।

बिरामीलाई फलफूल
यसैबीच ६९औं प्रजातन्त्र दिवसका अवसरमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । ६९औँ प्रजातन्त्र दिवस मूल आयोजक समारोह समितिको आयोजना प्रतिष्ठानका २४ बिरामीलाई फलफूल वितरण गरिएको हो ।

मूल आयोजक समितिका अध्यक्ष लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, प्रजिअ विष्णु पौडेलसहितको टोली कर्णाली प्रतिष्ठानमा पुगेर फलफूल वितरण गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस