राष्ट्रिय गौरवका आयोजनाको राष्ट्रिय सरोकार समितिले निरन्तर निगरानी गर्ने

सफल खबर संवाददाता

सोमबार, ०६ फागुन २०७५, १९ : ५७
राष्ट्रिय गौरवका आयोजनाको राष्ट्रिय सरोकार समितिले निरन्तर निगरानी गर्ने

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितले राष्ट्रिय गौरवका आयोजनाहरुको नियमित निगरानी र अनुगमन गर्ने भएको छ । आज सोमबार बसेको समितिको बैठकले २१ वटा राष्ट्रिय गौरवका आयोजनाको वास्तविक वस्तुस्थिती बुझ्ने निर्णय गरेको हो ।

गौरवका आयोजनाको अवस्था, अवश्यकता, चुनौती र समस्या पत्तालगाई समितिमा छलफलपछि समितिको तर्फबाट सरकार र सम्बन्धित आयोजनालाई आवश्यक सुझाव र निर्देशन दिने समितिका सभापति दिलकुमारी रावल पार्वतीले जानकारी दिनुभयो । उहाँले आयोजनाहरुको निर्माण कार्य तीब्र बनाउन र आईपर्ने बाधा व्यवधान हटाउन समितिका तर्फबाट पहल गरिने बताउनुभयो ।

बैठकले समितिका सदस्यहरुलाई राष्ट्रिय गौरवका आयोजनाहरुको समन्वय अनुगमन र वास्तविक अवस्था पत्ता लगाउन जिम्मेवारी समेत प्रदान गरेको  छ ।  

सांसद इन्दु कडरियालाई पश्चिम सेती जलविद्युत आयोजना र रानी जमरा कुलरिया सिंचाई आयोजना, कोमल ओलीलाई सिक्टा र बबई सिंचाई आयोजना, खिमलाल भट्टराईलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ र लुम्बिनी क्षेत्र विकास आयोजना, खेमराज नेपालीलाई मध्य पहाडी लोकमार्ग र कोशी करिडोर, जीवन बुढालाई कर्णाली करिडोर र भेरी बबई बहुउद्देश्यीय डाइभर्सन, दीपा गुरुङलाई पोखरा क्षेत्रीय विमानस्थल र धनकुमारी खतिवडालाई पशुपति क्षेत्र विकास आयोजना र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जिम्मा प्रदान गरिएको छ ।

यस्तै सांसद प्रकाश पन्थलाई कालिगण्डकी करिडोर, रमेशप्रसाद यादवलाई हुलाकी राजमार्ग, राजकुमार कुँवरलाई भैरहवा विमानस्थल, रामचन्द्र राइलाई काठमाडौं–तराई फास्ट ट्रयाक, रामपृत पासवाङलाई राष्ट्रपति चूरे संरक्षण कार्यक्रम र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग तथा सुरेन्द्र राज पाण्डेलाई मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनाको जिम्मेवारी प्रदान गरिएको छ ।

पछिल्लो समय राष्ट्रिय सरोकार समितिले राष्ट्रिय सरोकारका विषयमा छलफल, अनुगमन र आवश्यक निर्देशन दिने कार्यलाई तीब्रता दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस