यी कम्पनीले बनाउँदै छन्, फोल्डेवल स्मार्टफोन

एजेन्सी

शनिबार, ०४ फागुन २०७५, १४ : ३९
यी कम्पनीले बनाउँदै छन्, फोल्डेवल स्मार्टफोन

एजेन्सी । बिश्व बजारमा विभिन्न फिचर भएका स्मार्टफोन सार्वजनिक गर्ने होडबाजी नै चलेको छ । विभिन्न प्रकारका लुक्स र फिचरका फोनहरु सार्वजनिक गर्ने होडबाजीमा लागेको मोबाइल कम्पनीहरुको ध्यान पट्याउन मिल्ने अर्थात ‘फोल्डेबल’ फोनतर्फ मोडिएको छ ।

सुरुमा सन् २०१६ मा नै एप्पल कम्पनीले पट्याउन मिल्ने ‘फोल्डेबल स्मार्ट फोन’ को पेटेन्ट राइट दर्ता गराएको थियो । यद्यपी एप्पलले पेटेन्ट दर्ता गराएको तीन वर्षसम्म फोन सार्वजनिक गरेको छैन ।

सन् २०१६ को सेप्टेम्बरमा दर्ता भएको पेटेन्टले लचकदार डिस्प्लेको बारेमा जानकारी गराएको थियो । यस किसिमको आइफोन एउटा किताब जस्तै खुल्ने र बन्द हुने किसिमको हुने र पुरै पट्याउन मिल्ने ३ सय ६० डिग्रीको स्क्रीन हुने उल्लेख थियो ।

विश्वको नं. १ मोबाइल कम्पनी एप्पलले कहिले फोल्डेबल स्मार्ट फोन सार्वजनिक गर्छ भन्ने स्पष्ट पारी नसके पनि अमेरिकन कम्पनी रोयल र चीनिया कम्पनी जेड टी ई ले फोल्डेबल स्मार्ट फोन सार्वजनिक गरिसकेका छन् । सामसुङले पनि आफ्नो फोल्डेबल फ्लीप फोन ग्यालेक्सी एक्स चाडै सार्वजनिक गरिसकेको छ ।

हुवाई, मोटोरोला, एलजी लगायतका कम्पनीहरुले पनि सन् २०१९ मा बजारमा त्यस प्रकारका स्मार्ट फोन सार्वजनिक गर्ने जनाएका छन् ।

यो वर्ष प्रतिक्षा गरिएका केही फोल्डेबल स्मार्ट फोनहरु

१. रोयल ‘फ्लेक्स्पाइ’

अमेरिकी कम्पनी रोयलले हालै संसारको पहिलो फोल्डेवल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले १५ कार्तिक २०७५ मा चीनमा आयोजित एक कार्यक्रमा फोन सार्वजनिक गरेको हो । 

यो स्मार्ट फोनको नाम हो ‘फ्लेक्स्पाइ’ । ७.८ इन्च स्क्रिन भएको यो फोन ट्याब्लेट जस्तो छ तर यसलाई फोल्ड गरेर ४ इन्चको बनाउन सकिन्छ ।

संसारको सामसुङ पहिलो र हुवावे दोस्रो ठूलो कम्पनी हो । यी कुनै एक कम्पनीले संसारमा पहिलो फोल्डेबल स्मार्ट फोन सार्वजनिक गर्ने विश्वास गरिए पनि ७ साल पुरानो अमेरिकी स्टार्टअप कम्पनी रोयलले यो काम पूरा गरेको छ ।

यो फोनमा ७ एनएम स्न्यापड्रैगन ८,१५० को प्रोसेसर प्रयोग गरिएको छ । यसमा कम्पनीको आरओ चार्जिङ टेक्नोलोजीको प्रयोग गरिएको छ जसले ब्याट्रीमा ०.८० प्रतिशत चार्ज हुन मात्र एक घण्टा लाग्नेछ ।

यो स्मार्ट फोनको अगाडि ड्युल क्यामेरा छ जसको प्राइमरी सेन्सर १६ मेगापिक्सल र सेकेन्डरी सेन्सर २० मेगापिक्सल रहेको छ । फ्लेक्स्पाईलाई तीन वटा भेरियन्टमा सार्वजनिक गरिएको छ । यसमा फिंगरप्रिन्ट सेन्सर प्रयोग गरिएको छ ।

२. जेड टी इ को ब्हयल

चीनिया कम्पनी जेडटिइले ब्हयल नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ ।

यो फोनमा प्रयोगकर्ताका लागि आवश्यकता अनुसार तिनवटा मोड रहेका छन् । डुअल मोडमा प्रयोगकर्ताले दुईवटै स्क्रिनमा अलग अलग एप्स खोलेर राख्न सक्छन् । एउटा स्क्रिनमा गेम खेल्दै अर्को स्क्रिनमा इन्टरनेट भिडियो हेर्न सकिन्छ ।

यी फरक फरक स्क्रिनलाई पूर्णरुपमा तन्काएर एउटै ठूलो स्क्रिन बनाउन सकिन्छ । जसमा ट्याबलेट जस्तो भिडियो तथा गेमिङको मज्जा लिन सकिन्छ ।

जेड टी इ ले ब्हयलमा ५.२ इन्चको डुअल फूल एचडी टिएफटी एलसिडी डिस्प्ले राखेको छ । यसमा कर्निंग गोरिल्ला ग्लास फाइभको सुरक्षा प्रदान गरिएको छ ।

यो फोनमा स्नापड्रागन ८ सय २१ प्रोसेर रहेको छ । साथै ४ जिबी र्याम, ६४ जिबी इनबिल्ट प्रोसेसर यसमा रहेको छ ।

यो फोनको अर्को रोचक विशेषता भनेको यसमा २० मेगापिक्सेलको एउटा क्यामरा छ, जसलाई मुख्य क्यामरा र सेल्फी क्यामरा दुबैको रुपमा प्रयोग गर्न सकिन्छ ।

३ हजार १ सय ८० मिलि एम्पियर आवर क्षमताको ब्याट्री भएको यो फोनमा क्विक चार्ज ३ फास्ट चार्जिङ सपोर्ट फिचर रहेको छ । यसमा एन्ड्रोइड ७.१.२ नूगट फिचर रहेको छ ।

३. सामसुङ ग्यालेक्सी एफ वा सामसुङ ग्यालेक्सी एक्स

एप्पलको प्रतिष्पर्धी कम्पनी सामसुङले पट्याउन मिल्ने फोन २०१९ भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ फोल्डेबल फोनको नाम सामसुङ ग्यालेक्सी एफ वा सामसुङ ग्यालेक्सी एक्स राख्ने तयारी गरेको छ ।

२०१८ को वर्षको सुरुमा सामसुङले टच स्क्रीनका साथ चीनमा उच्च गुणस्तरको फ्लिप फोन सार्वजनिक गरेको थियो । कम्पनीले पट्याउन मिल्ने डिस्प्लेका साथ २०१९ मा स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

सामसुङको यो फोनमा ७.३ इन्चको स्क्रीन हुनेछ । सामसुङको फोल्डेबल मोबाइललाई एउटा सानो ट्याब्लेटमा परिणत सकिनेछ । तर पनि यो फोन सार्वजनिक हुने मिति तय भइसकेको छैन । सामसुङको फेब्रुअरी २० मा हुने बिषेश समारोहका बेला यस फोनको बारेमा केही जानकारी दिने आशा गरिएको छ ।

सामसुङको यो मोबाइलमा रिजोलुसन १ हजार ५ सय ३६ गुणा २ हजार १ सय ५२ पिक्सेल हुनेछ । भने ८ जीबी ¥याम सहित १ सय २८ जीबी रोम हुनेछ । यो मोबाइलमा एक्जीनोस ९ हजार ८ सय २० वा क्वालकम ८ सय ५५ प्रोसेसर रहने बताईएको छ । सामसुङको यो फोनको मूल्य १८ सय अमेरिकी डलर हुनेछ ।

४. मोटोरोलाको रेजर

मोटोरोलाले रेजर २ हजार १९ फोल्डेबल फोन यो वर्ष सार्वजनिक गर्ने तयारी गरेको छ । लेनेभोले किनेको मोटोरोला रेजर २ हजार १९ को स्क्रीन पट्याउने हुने लेनोभोको सिइओ याङ युन्कीङले जानकारी दिएका छन् ।

यसको दुई वटा स्क्रीन हुने जसलाई जोडेर ट्याब्लेटका रुपमा प्रयोग गर्न सकिने, यसको दुई वटा क्यामेरा हुने, यसको तीन भागमा स्क्रीनलाई विभाजन गर्न सकिने कम्पनीले दर्ता गरेको पेटेन्टमा उल्लेख छ । फोल्ड नगर्दा सो फोनको स्क्रीन ७ इन्चको हुने बताइएको छ ।

५. एलजी वेण्डी

इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने कम्पनी एलजीले भने स्क्रीन घुमाउने मिल्ने स्क्रीन भएको स्मार्ट फोन बनाउने घोषणा गरेको छ ।

टेलिभिजन लगायतका अन्य सामाग्री उत्पादन गर्दै आएको एलजीले अन्य मोबाइल कम्पनीहरुका लागि समेत डिस्प्ले उत्पादन गर्दै आएको छ । एलजीले नयाँ फोल्डेबल फोनको नाम फ्लेक्स, फोल्डी र डुप्लेक्स लगायत रहनसक्ने आन्तरिक कागजातमा उल्लेख गरेको छ ।

एलजीले सन् २ हजार १९ को अन्त्यसम्ममा बजारमा ल्याउने नयाँ फोनको स्क्रीन घुमाउन मिल्ने बनाउने तयारी गरेको छ । 

६. साओमी मिक्स फ्लेक्स

साओमीले पनि हालै नयाँ पट्याउन मिल्ने फोन निर्माण गर्ने सार्वजनिक गरेको छ । भिडियो टिजर मार्फत कम्पनीका अध्यक्ष तथा संस्थापक लिन विनले नयाँ फोल्डेबल फोनको स्वरुप भिडियो टिजर मार्फत सार्वजनिक गरेका हुन् ।

टिजर अनुसार यो फोन लाई दुई ठाउँबाट पट्याउन सकिने अर्थात डबल फोल्ड गर्न सकिन्छ । एक तिहाई भागमा समेत चलाउने सकिने फोनलाई ट्याब्लेट मोडमा पनि प्रयोग गर्न सकिन्छ । 

७. हुवाई मेट फाइभ जी

चीनको ठुलो मोबाइल कम्पनी हुवाईले पनि लचकदार स्क्रीन भएको स्मार्ट फोन सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीका तर्फबाट सिइओ रिचार्ड युले आफ्नो आवश्यकता अनुसार झुकाउन वा उठाउन मिल्ने लचकदार स्क्रीन भएको स्मार्ट फोन चाडै बजारमा ल्याउने घोषणा गरेका हुन् ।

उसले कितावजस्तै खोल्न मिल्ने र दुईवटा स्क्रीनलाई जोडेर प्रयोग गर्न मिल्ने फोन निर्माण गर्ने जानकारी दिएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस