जब उत्तर कोरियाले आफ्नै शहरमा खसाल्यो क्षेप्यास्त्र

एजेन्सी

शनिबार, २९ पुस २०७४, १४ : २९
जब उत्तर कोरियाले आफ्नै शहरमा खसाल्यो क्षेप्यास्त्र

प्योङयाङ । आफ्नो अनियन्त्रित परमाणु कार्यक्रमको कारण विश्वकै टाउको दुखाई बनेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न परेको थियो ।

उत्तरको एक क्षेप्यास्त्र परीक्षण गलत हुन पुगेको थियो र त्यो क्षेप्यास्त्र उसकै एक शहरमा खसेको थियो ।

‘द डिप्लोम्याट’ मा प्रकाशित एक विश्लेषणमा यस घटनाबारे उल्लेख गरिएको छ । यसलाई सम्पादक अंकित पान्डा र अमेरिकाका जेम्स मार्टिन सेन्टर फर नन प्रालिफरेशन स्टडीजका रिसर्चर डेव सिजमर्लरले तयार गरेका हुन् ।

किन खस्यो क्षेप्यास्त्र ?
रिपोर्टका अनुसार यो घटना २८ अप्रिल २०१७ को हो  । अमेरिकी सरकारी सुत्रका अनुसार सो क्षेप्यास्त्र परीक्षण सही तरिकाले हुन सकेन र आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन ।

बिबिसीसँगको कुराकानीमा अंकित पान्डाले भने, ‘सो क्षेप्यास्त्रमा के गडबडी भएको थियो, कसैलाई थाहा छैन ।’

उनले भने, ‘जुन समय क्षेप्यास्त्र लञ्च गरियो, इन्जिनले काम गर्न छाड्यो र आफ्नो क्षेत्र छाड्न सकेन ।

पान्डका अनुसार सो क्षेप्यास्त्रमा तरल इन्धन थियो । यसको अर्थ क्षेप्यास्त्र जमिनमा खस्दा ठूलो विस्फोट पनि भएको थियो । यसको प्रमाण भूउपग्रहबाट लिइएको तस्विरमा रहेको उनको दाबी गरे ।

कति भयो क्षति ?
भूउपग्रहबाट लिइएको तस्विरको आधारमा कति क्षति भयो भन्ने कुरा यकिन गर्न गाह्रो हुने उनले बताए । यो क्षेप्यास्त्र टोकचोक शहरमा खसेको थियो ।

डेव सिजमर्लरका अनुसार क्षेप्यास्त्र खसेको ठाउँमा ठूलो कालो धब्बा देखिएको थियो ।

जहिले पनि क्षेप्यास्त्र परिक्षण गरेको दाबी गर्ने प्योङयाङले यो परिक्षणबारे कुनै दाबी गरेन ।

ह्वासोङ–१२ नाम गरेको यो मध्यम दुरीको क्षेप्यास्त्र थियो । अप्रिलमा परीक्षण असपल भएपछि मेमा पुनः यसको परीक्षण गरिएको थियो जसमा भने उत्तर सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस