चितवन बिशेष

प्रचण्ड चितवन आउँदा चुनावी गतिविधिमा रौनक

सुजन अधिकारी

शुक्रबार, २४ कार्तिक २०७४, ११ : ४७
प्रचण्ड चितवन आउँदा चुनावी गतिविधिमा रौनक


चितवन । पूर्वप्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड चितवन आउँदा चुनावी गतिविधिमा रौनक आउने गरेको छ । विशेषगरी वाम गठबन्धनका उम्मेदवारहरु प्रचण्ड चितवनमा रहेका बेला उत्साहका साथ चुनाव प्रचारप्रसार र घरदैलोमा जुट्ने गरेका छन् । कात्तिक १६ गते उम्मेदवारी मनोनयनपछि गृहजिल्ला चितवनमा पाँच दिन बिताएपछि काठमाडौँ फर्किएका प्रचण्ड कात्तिक २३ गते बिहीबार पुनः चितवन आइपुगेका छन् । बिहीबार चितवनमा बाम गठबन्धनको चुनावी गतिविधि यस्तो रह्यो :

प्रचण्डको घरदैलो सुरु
चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबारदेखि घरदैलो सुरु गरेका छन् । उनले भरतपुर महानगरपालिका वडा नम्बर १३, उज्ज्वलनगरबाट मतदातासँग भेटघाटम सुरु गरेका हुन् । घरदैलोको क्रममा स्थानीयवासीले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए । प्रचण्डलाई जिताएर पठाएपछि आफ्नो ठाउँको विकास हुनेमा उनीहरु ढुक्क देखिन्थे ।
घरदैलो कार्यक्रमअघि अध्यक्ष प्रचण्डले उज्ज्वलनगरचोकमा संयुक्त निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका थिए । पूर्वप्रधानमन्त्री प्रचण्डले चितवन र समग्र राष्ट्रको समृद्धिको लागि आफूले गृहजिल्ला चितवन रोजेको बताए । प्रदेश सभा सदस्य पदका लागि चितवनको क्षेत्र नम्बर तीन ख बाट वाम गठबन्धनका उम्मेदवार रामलाल महतोले शीर्ष नेताको साथ लिएर यस क्षेत्रको विकासमा जुट्ने बताए ।

समाजवादी युग सुरु गर्न पार्टी एकता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई पार्टीबीचको चुनावी गठबन्धन र चुनावपछिको पार्टी एकता नयाँ समाजवादी युग सुरु गर्नका लागि भएको बताएका छन् । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को संयुक्त भेलालाई सम्बोधन गर्दै बिहीबार चितवनको भरतपुरमा उनले यस्तो बताएका हुन् ।
चितवनको तीन नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको सदस्य पदमा उम्मेदवारी दिएका प्रचण्डले यसपटकको वाम गठबन्धन र पार्टी एकीकरणको लागि गरिएको सहमति ७० बर्षको अनुभवको संश्लेषण भएकोे दाबी गरे । प्रचण्डले पार्टी एकीकरण हुन्छ कि हुँदैन भन्ने विषयमा नेतृत्व तहमा कुनै पनि विषयमा विमति नभएको बताए । उनले भने, “हामी नेताहरुको दिमागमा पार्टी एकीकरण हुन्छ कि हँुदैन भन्ने कुरामा कुनै कन्फ्युजन छैन । अब पार्टी एकता हुन्छ कि हुँदैन नभन्नुहोस् । पार्टी एकता भयो, भयो ।”

पोखरेलले भने, मिल्यौं दाजुभाइ
चितवन क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोखरेलले बाम गठबन्धनले सकरात्मक सन्देश दिएको बताएका छन् । बिहीबार भरतपुर ३ का मतदातासँग भेटघाट गर्ने क्रममा नेता पोखरेलले यसै क्षेत्रको प्रदेश क बाट उम्मेदवार बनेका माओवादी नेता घनश्याम दाहाललाई देखाउँदै भने, ‘लौ हामी दाजुभाइ मिलेर आयौं । अब भोट दिएर जिताउने जिम्मा तपाइँहरुको ।’
भेटघाटका क्रममा मतदाताले दुई मुख्य कम्युनिष्ट पार्टीहरु मिलेकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश क का वाम गठबन्धन उम्मेदवार घनश्याम दाहालले मिलेर अघि बढे विकास र समृद्धि सम्भव छ भन्ने उद्देश्यले नै आफूहरु एक भएर मत माग्न आएको बताए । उनले नेपालमा वाम आन्दोलनलाई एकतावद्ध गर्ने उद्देश्यले वाम गठबन्धन गरिएको बताए । पाँच वर्षसम्म स्थायी सरकार नभएसम्म नेपालको विकास सम्भव नभएको कारण आर्थिक क्रान्तिको लागि सबै वाम एक ठाम भनेर कम्युनिस्ट शक्तिको एकीकरण अभियान सुरु भएको उनको भनाइ थियो ।


 
पार्टी एकता यसै वर्षमा
प्रतिनिधि सभा चितवन क्षेत्र नं. १ का संयुक्त वामपन्थी उम्मेदवार एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले २०७४ सालभित्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइसक्ने बताएका छन् । दुबै पार्टी अहिले संयुक्त निर्वाचन अभियानमा रहेको भन्दै पाण्डेले संयुक्त वामपन्थी उम्मेदवारलाई मतदान गरी देशको समृद्धि र उज्ज्वल भविष्य निर्माण गर्ने अवसर प्रदान गर्न अनुरोध गरेका थिए ।
रत्ननगर १० को दुरसंचार चोकमा वाम गठबन्धनको निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले चितवनलाई देशको मात्र नभई विश्वकै पर्यटकीय मुख्य गन्तव्य बनाउन आफू लागिपर्ने बताए । पूर्वी चितवनका नगरपालिकाहरुलाई समेटेर व्यवस्थित शहर बनाउन पनि आफू प्रतिवद्ध रहेको उनले बताए ।
प्रदेश सभा चितवन क्षेत्र नं. १ “ख” का उम्मेदवार कृष्णप्रसाद खनालले शिक्षा, स्वास्थ्य र रोजगार आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै यस क्षेत्रको विकासको लागि आफू सधैं लाग्ने बताएका थिए । टाँडी, शक्तिखोरहुँदै सिद्धिसम्मको बाटो निर्माण, क्षेत्रीय रङ्गशाला निर्माण, भण्डारा–मुग्लिन सुरुङ मार्ग, शक्तिखोरहुँदै हुग्दीसम्मको वैकल्पिक मार्ग निर्माण आफ्नो मुख्य प्राथमिकता रहेको समेत उनले बताए ।

बहुमतको सरकार बन्ने
प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनको समुन्नत विकासको लागि आफू सधैं प्रतिवद्ध रहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नं. ३ बेलचोकमा वाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन गर्दै पूर्वसांसद एवम् नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका पोख्रेलले वाम गठबन्धनको बहुमतको सरकार बन्ने भएपछि विपक्षीहरु अत्तालिएको बताए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनमा प्रदेश र केन्द्र सरकार बनेपछि देशको आर्थिक विकास गर्न सफल हुने समेत उनले दाबी गरे । सोही कार्यक्रममा प्रदेश सभा चितवन क्षेत्र नं. २ “क” उम्मेदवार घनश्याम दाहालले वाम गठबन्धनको विकल्प नभएको भन्दै चितवनका सबै क्षेत्रमा चितवनवासीले वाम गठबन्धनलाई विजयी गराउने बताए ।

गोलाघाटमा जल पर्यटन
चितवन क्षेत्र नम्बर ३ प्रदेश सभा १ का उम्मेदवार कृष्ण भुर्तेलले चितवनको विकासमा निर्वाचन क्षेत्र नम्बर ३ को १ नम्बर प्रदेश कोशेढुंगा सावित हुने बताएका छन् । पूर्वपश्चिम राजमार्गलाई छुँदै पर्यटकीय गन्तव्य गोलाघाटसम्मको क्षेत्रमा पर्ने प्रदेशमा जल पर्यटन, शैक्षिक पर्यटन, वाइल्डलाइफ पर्यटनजस्ता सम्भावना भएको भुर्तेलले बताए ।
वाम गठबन्धन चुनावी प्रचारप्रसार समिति भरतपुर वडा नम्बर ८ को कार्यालय उद्घाटनका क्रममा भुर्तेलले यस क्षेत्रका वाम उम्मेदवार विजयी भएमा चितवनको विकासले मुहार फेर्ने बताए । नेपाली कम्युनिष्ट आन्दोलनका उच्च व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड समेत चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेकोले चितवनको तीन वटा प्रतिनिधि सभा र छ वटा प्रदेश सभामा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा चितवनको सम्भावनालाई समृृद्धिमा परिणत गर्ने भुर्तेलको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटि चितवन क्षेत्र नम्बर ३ का संयोजक सूर्य सुवेदीले नेपालमा वाम आन्दोलनलाई एकतावद्ध गर्ने तरिकाले वाम गठबन्धन गरिएको बताए । पाँच वर्षसम्म स्थायी सरकार नभएसम्म नेपालको विकास सम्भव नभएको कारण आर्थिक क्रान्तिको लागि सबै वाम एक ठाम भनेर कम्युनिस्ट शक्तिको एकीकरण अभियान सुरु भएको सुवेदीको भनाइ थियो ।

प्रचारप्रसार कार्यालय उद्घाटन
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरेर वाम गठबन्धनले रत्ननगरका विभिन्न वडामा बिहीबार निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गरेका छन् । रत्ननगर नगरपालिका वडा नं. ४, ७, ८ र १० मा निर्वाचन कार्यालय उद्घाटन गरिएको छ । चितवन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेश सभा सदस्य १ ख का उम्मेदवार कृष्ण खनालले संयुक्त रुपमा चार वटा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् । उनीहरुले मंसिरभित्रै वामपन्थीको दुईतिहाई बहुमतको सरकार बन्ने दाबी गरे ।
पूर्वअर्थमन्त्री समेत रहेका एमालेका स्थायी कमिटी सदस्य पाण्डेले नयाँ नेपाल निर्माण गर्न सक्ने वामपन्थीको सरकार निर्माण गर्न वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा प्रदेश १ ख का उम्मेदवार एमालेका केन्द्रीय सदस्य कृष्ण खनालले मुलुकले बहुमतको सरकार चाहिरहेको भन्दै वाम गठबन्धनलाई यो निर्वाचनमा बहुमत ल्याउने गरी मतदान गर्न आह्वान गरे ।

 

प्रतिक्रिया दिनुहोस