भुवन नाच्दा अनमोल नर्भस, निरुता दंग

शनिबार, २६ माघ २०७५, १९ : ४१
भुवन नाच्दा अनमोल नर्भस, निरुता दंग

काठमाडौं । ललितपुरको एउटा प्यालेस। सोमबार साँझ चारैतिर झिलिमिली थियो। ‘ईशान’ लेखिएको ११ नम्बरको फुटबल ड्रेस लगाएर केही युवा फुटबल खेल्दै थिए। त्यही बीचमा उभिएका थिए, नायक अनमोल केसी अर्थात् ईशान खड्का। अनमोलको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’मा समावेश एक गीतको छायांकनका लागि यस्तो माहोल सिर्जना गरिएको थियो।

‘कर्ली कर्ली’ बोलको गीतको छायांकनमा अनमोल केसी मात्र आकर्षणमा थिएनन्। यो गीतमा अनमोलका पिता तथा नायक भुवन केसी पनि आफ्नै स्टाइलमा देखिएका थिए। अनमोल र भुवनको साथमा थिइन्, नायिका निरुता सिंह। उनको शैली पनि निकै आकर्षक थियो।

मेलिना राई र एसडी योगीको आवाजमा तयार भएको यो गीतमा एसडीकै शब्द तथा संगीत छ। गीतको भिडियोको कोरियोग्राफी रेनशा बान्तवा राईले गरेकी थिइन्। रेनशा भन्दै थिइन्, ‘गीत निकै नै मीठो छ। दर्शकले केही नयाँ स्वाद पाउनुहुनेछ।’

यता छोरा अनमोल केसीसँग पर्दामा देखिन लागेका भुवन कहिले छोरातिर हेर्दै भन्थे, ‘मैले नाचेपछि अनमोल नर्भस देखिन थाल्यो।’ भुवनले यसो भन्दा अनमोल मुुसुक्क हाँस्थे मात्र।

भुवन र अनमोलको जिस्क्याइमा रमाइरहेकी नायिका निरुतालाई यो गीतमा नृत्य गर्दा बेग्लै आनन्द लागिरहेको थियो। माघको जाडोमा रातभर छायांकन गर्दा पनि निरुता थाकेकी थिइनन्। उनी भन्दै थिइन्, ‘यो गीत नेपाली चलचित्रका दर्शकका लागि एउटा बेग्लै स्वादको हुनेछ।’

फागुन १७ बाट रिलिज हुने चलचित्रमा अनमोलका साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सनविक्रम राई मुख्य भूमिकामा छन्।

यो गीतको विषयमा निर्मातासमेत रहेका भुवनले भने, ‘ईशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलेब्रेसनका क्रममा यो गीत पर्दामा आउनेछ। दर्शकका लागि अनमोल, म र निरुताको जोडी बेग्लै स्वाद हुने विश्वास लिएको छु।’

दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा सुदीप बरालको छायांकन छ। यो गीत केही दिनमै रिलिज गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ। कलाकारको पहिरनको डिजाइन स्वर्णिम राईले गरेकी हुन्। अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस