भारतमा प्रधानन्यायाधीशविरुद्ध चार न्यायाधीशको पत्रकार सम्मेलन

शुक्रबार, २८ पुस २०७४, १४ : ३८
भारतमा प्रधानन्यायाधीशविरुद्ध चार न्यायाधीशको पत्रकार सम्मेलन

भारतमा सर्वोच्च अदालतका चार न्यायाधीश प्रधानन्यायाधीशविरुद्ध उभिएका छन् । न्यायाधीशले पत्रकार सम्मेलन गरेर प्रधानन्यायाधीशविरुद्ध आफ्नो धारणा सार्वजनिक गरेको भारतको न्यायिक इतिहासमा पहिलो हो ।

न्यायाधीशहरु जे चेलमेश्वर, रञ्नज गोगोई, मदन लोकुर र करियन जोसेफ प्रधानन्यायाधीशविरुद्ध उभिएका हुन् । उनीहरुले पत्रकार सम्मेलन गरेर दीपक मिश्रमाथि महाअभियोग लगाउने नलगाउने देशले निर्णय गर्ने बेला आएको बताएका हुन् ।

सर्वोच्चका दोस्रो नम्बरका न्यायाधीश जे चेलमोश्वरले भने, ‘हामी चार जना यो कुरामा सहमत छौं कि यो संस्थालाई नबचाए यो देशमा वा कुनै पनि देशमा लोकतन्त्र जीवित रहँदैन । स्वतन्त्र र निष्पक्ष न्यायालय राम्रो लोकतन्त्रको निशानी हो ।’

आफूहरुले शुक्रबार पनि मिश्रलाई भेटेको तर, आफ्नो कुरामा सहमत गराउन नसकेको उनले बताए । उनले भने, ‘अब हामीसँग न्यायालयको हेरविचार गर्न देशबासीलाई भन्नुको विकल्प रहेन ।’

दीपक मिश्र वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बनेका हुन् । १३ महिनाको कार्यकाल पुरा गरेर उनी २ अक्टोबर २०१८ मा रिटायर हुनेछन् ।

चार न्यायाधीशले महत्वपूर्ण मुद्दा हेर्न आफूहरु भन्दा कनिष्ठलाई दिएको असन्तुष्टि जनाउँदै दुई महिना अघि प्रधानन्यायाधीशलाई पत्र लेखेका थिए । न्यायाधीश बीएच लोयाको रहस्यमय मृत्युबारे उनीहरुको फरक धारणा थियो ।

प्रतिक्रिया दिनुहोस