जानी नजानीको कभर भिडियो प्रतियोगिता

सफल खबर संवाददाता

विहीबार, २४ माघ २०७५, १६ : २४
जानी नजानीको कभर भिडियो प्रतियोगिता

काठमाडौं । चैत्र एकबाट रिलिज हुने फिल्म ‘जानी नजानी’को गीत ‘एउटीलाई मुटुमा घर...’ को कोभर भिडियो घोषणा गरेको छ । बिहिबार काठमाडौंको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो ।
अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ । यो गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ । कविराज गहतराजको कोरियोग्राफ रहेको यो गीतको भिडियोमा मनिष र सुमीसँगै डेब्यु नायिका निरिशा बस्नेतलाई पनि देख्न पाईन्छ । 

यो गीतको कभर भिडियो एक मिनटदेखि चार मिनटसम्मको हुनु पर्ने फिल्मका निर्माता रोशनी केसीले बताईन् । 
‘उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुन क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् ।’ यो चलचित्रका निर्देशक बसन्त अधिकारीले भने,‘भिडियो यही २० फागुनभित्र  [email protected]  मा पठाईसक्नु पर्नेछ ।’

यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफल नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वास आफुले गरेको उनले बताए । अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफुहरुसँग जोडिन सघाउने बताए । 

निर्माता रोशनीका अनुसार फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्ममार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । 
फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको व्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस