‘भ्यालेनटाइन डे’को अवसर पारेर सौराहामा फुड फेष्टिबल,  प्रेम पत्र लेखन प्रतियोगिता पनि हुने

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १८ : ०६
‘भ्यालेनटाइन डे’को अवसर पारेर सौराहामा फुड फेष्टिबल,  प्रेम पत्र लेखन प्रतियोगिता पनि हुने

चितवन । सौराहामा प्रणय दिवस ‘भ्यालेनटाइन डे’को अवसरमा फुड फेष्टिबल हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा उक्त फेष्टिबल माघ २८ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।  
१३ औँ संस्करणको यो फुड फेस्टिबलको तयारी तिव्र पारिएको आयोजकले शुक्रबार सौराहामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीका अनुुसार सौराहालगायत पर्यटकिय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन कम हुने भएकाले सौराहामा  पर्यटकको संख्यामा वृद्धि गर्नु यो फेस्टिबलको मुख्य उद्देश्य हो ।

फुडफेस्टिबलमा अन्य दिन निशुल्क प्रवेशको व्यवस्था गरिएपनि प्रणय दिवसको दिन १ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ । फेस्टिबलभरी सौराहाका रेष्टुरेन्टहरुमा १५ प्रतिशत छुट र होटलहरुको अनलाइन बुकिङ्गमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । फेष्टिवलमा पेय पदार्थको सिण्डिकेट नरहने आयोजकले जनाएको छ ।

फुड फेष्टिवलमा रेवान महिला समूह, क्षेत्रिय होटल संघ नेपाल चितवन र युनाइटेड हात्ती संचालन सहकारी सह–आयोजक हुन् भने नेपाल पर्यटन बोर्ड, प्रदेश स्तरिय पर्यटन मन्त्रालय र संरक्षण तथा पर्यापर्यटन प्रवद्दन समिति बाघमारा फेष्टिवलको प्रवद्र्धक हुन ।

फेस्टिबलमा प्रेम पत्र लेखन प्रतियोगिता, खाना प्रतियोगिता, घैलो रङ्गाउने प्रतियोगिता, भलिवल प्रतियोगिता, बेलुन फुटाउने प्रतियोगिता लगायतको अन्य प्रतियोगिताहरु हुनेछन् । फेस्टिबलमा सांस्कृतिक कार्यक्रमका साथै विभिन्न झाँकी प्रदर्शन समेत गरिने आयोजकले जनाएको छ ।
महोत्सव परिसरभित्र ५ बिशेष प्रदर्शनीसहित ४५ वटा खानाको स्टल हुनेछन् । उक्त फेस्टिबलमा ७५ हजार भन्दा बढीको संख्यामा दर्शक आउने र डेढ करोड भन्दा माथि कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस