चार किलो सुन तामा बनेको काण्डमा एसपी जिम्मेवारीमुक्त

पत्रपत्रिकाबाट

विहीबार, १७ माघ २०७५, ०७ : ४५
चार किलो सुन तामा बनेको काण्डमा एसपी जिम्मेवारीमुक्त

तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ ।

अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन व्यक्तिलाई पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । पछि राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा उक्त धातु ढलोट र तामा भएको खुलेको थियो ।

यसबारे नयाँ पत्रिकामा समाचार आएपछि प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो । धातु साटफेर नभई एसपीले सामान्य अनुसन्धान नै नगरी सुन भनेर सार्वजनिक गर्दा समस्या भएको प्रारम्भिक छानबिनको निष्कर्ष छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस