अनशन २३औँ दिनमा डा. केसीले औषधि लिन मानेनन्

पत्रपत्रिकाबाट

विहीबार, १७ माघ २०७५, ०७ : ४३
अनशन २३औँ दिनमा डा. केसीले औषधि लिन मानेनन्

१५औँ अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्न थालेको छ । पटक–पटकको अनशनका कारण केसी यसपटक झनै गलेको चिकित्सकले बताएका छन् ।

दुई दिनयता औषधिसमेत खान नमान्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको हो । मंगलबारदेखि छाती दुख्ने समस्या बढेको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले केसीको अवस्था खस्किएको रिपोर्ट चिकित्सकहरूले दिएको बताए ।

‘केसीले औषधि लिन नमान्दा स्वास्थ्य खस्किन थालेको रिपोर्ट आएको छ,’ खड्काले भने, ‘बोल्नसमेत समस्या भएकाले इसारा बुझ्न समस्या भएको मेडिकल टिमले जनाएको छ ।’ केसीको रगतमा सुगरको मात्रा कम र मुटुको धडकन अस्थिर देखिएको छ ।

केसीको माग पूरा गर्दा कसैको जित–हार हुँदैन : पूर्वप्रधानन्यायाधीश कार्की
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीका माग पूरा गर्न सरकारसँग आग्रह गरेकी छिन् । बुधबार केसीको स्वास्थ्य बुझ्न अस्पताल पुगेकी कार्कीले केसीका मागको समाधान खोज्न आग्रह गरेकी हुन् । धेरै माग पूरा भइसकेको अवस्थामा बाँकी विषयमा पनि समाधान खोज्नुपर्ने उनको सुझाब छ ।

‘यति समर्पित त मान्छे नै हुँदैन,’ कार्कीले भनिन्, ‘केसीसँग जुन तागत छ,  जनता र मुलुकप्रति राखेको जुन भावना छ, त्यो भावना सबैमा भइदिएको भए हुन्थ्यो,’ उनले भनिन्, ‘मलाई आशा छ, सरकारले केसीको माग पूरा गर्नेछ । त्यसमा कसैको जित–हार हुनेछैन ।’ हाल मेडिकल शिक्षामा भएको सुधार केसीकै कारण सम्भव भएको कार्कीले बताइन् ।

प्रधानमन्त्रीको व्यंग्य– नेपालका चिकित्सकले बिरामी हेर्न मिल्दैन
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन र बन्द–हडताल डाक्टरहरूले मात्रै गर्न मिल्ने भन्दै व्यंग्यात्मक अभिव्यक्ति दिएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा कार्यक्रममा चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘हडताल मजदुरले गर्ने होइन, डाक्टरहरूले गर्ने हो । नेपालका डाक्टरले बिरामी हेर्न मिल्दैन । अन्य देशमा डाक्टरको काम बिरामी हेर्ने हो, नेपालमा फरक छ ।’

सरकारका प्रवक्ता भन्छन्–वार्ता गर्नुपर्ने अवस्था छैन : गोकुल बाँस्कोटा
सरकारका प्रवक्ता
अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्नुपर्ने अवस्था सरकारले देखेको छैन । केका लागि वार्ता गर्ने, औचित्य पनि हुनुपर्छ । विगतका माग पूरा गराउन अनशन बसेका हुन्, माग पूरा भइसकेको छ, उनलाई धन्यवाद । रिले अनशनका नाममा निजी अस्पताल पोस्ने काम चिकित्सकले गरिरहेका छन् । हामी अहिले चर्को स्वरमा बोल्ने पक्षमा छैनौँ, केबल अनुरोध छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस