जाँच आयोग भन्छ– क्याप्टेन अविद सुल्तान अघिल्लो रात सुतेका थिएनन्, ककपिटमै धूमपान गरेका थिए
५१ जनाले ज्यान गुमाएको युएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनामा क्याप्टेनसहित चालक दल दोषी रहेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ । २८ फागुन ०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भएको दुर्घटनालगत्तै पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित सातसदस्यीय आयोगले क्याप्टेन अविद सुल्तान मुख्य दोषी रहेको निष्कर्ष निकालेको हो । आयोगले चालक दलका सदस्य पनि दुर्घटनाका दोषी भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
ढाका–काठमाडौं उडानमा रहेको उक्त जहाजका चालक दलका सदस्य आफ्नो दिशा र अवस्थाबारे पूर्ण रूपमा अनभिज्ञ हुँदा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । जहाजले लिनुपर्ने ‘रन वे’लाई सही तरिकाले ‘फलो’ गर्न नसकेको र अन्तिम समयसम्म पनि रन वेमा ल्याउने कुनै प्रयत्न नगरेको निष्कर्ष छ ।
उडान सञ्चालनमै कमजोरी
आयोगले उडान सञ्चालनमा पनि कमजोरी भेटाएको छ । प्रतिवेदनअनुसार उडान सञ्चालनको स्थापित मापदण्ड चालक दलले उल्लंघन गरेको थियो । चालक दल र उडान सञ्चालन गर्ने अफिसरबीच समन्वयको अभाव देखिँदा क्याप्टेनले उच्च तनाव, फ्रस्टेसन र आवेगको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, स्पष्ट सञ्चार हुन नसकेको विषयलाई पनि आयोगले दुर्घटनाको कारणमा समेटेको छ । आयोगले जहाजमा दुर्घटना हुन सक्ने कुनै पनि किसिमको कारण नभेटेको प्रतिवेदनमा उल्लेख गरेको छ । उसले दुर्घटनाको कारण सम्भव भएसम्म खोजी गरेको बताएको छ ।
पर्यटनमन्त्रीले बुझे प्रतिवेदन
आयोगले ५३ पेज लामो प्रतिवेदन आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको छ । दुर्घटनामा ४७ यात्रु र ४ चालक दलका सदस्यको ज्यान गएको थियो । तीमध्ये २८ जना बंगलादेशी, २२ जना नेपाली र १ चिनियाँ थिए । ६७ यात्रु रहेको जहाजमा २ जना क्याबिन र फ्लाइट क्रिउका २ सदस्य थिए ।
जाँच आयोग भन्छ– क्याप्टेन अविद सुल्तान अघिल्लो रात सुतेका थिएनन्, ककपिटमै धूमपान गरेका थिए । आयोगको प्रतिवेदनले क्याप्टेन अविद सुल्तानलाई दुर्घटनाको मुख्य कारक मानेको छ । उडान भरेको अघिल्लो रात सुल्तान पर्याप्त नसुतेको र उनले ककपिटमै धूमपान गरेको अध्ययनमा खुलेको आयोगले जनाएको छ । ‘विमान दुर्घटना हुन सक्ने जोखिमपूर्ण अवस्थामा पनि उनी अनावश्यक, अव्यावसायिक र लामो संवादमा थिए । यसले ककपिटको सबै प्रकारका मापदण्ड उल्लंघन गरेको थियो,’ जाँच आयोगले भनेको छ ।
डिप्रेसनमा थिए क्याप्टेन
आयोगले क्याप्टेन अविद सुल्तानमा डिप्रेसनको समस्या रहेको पनि खुलाएको छ । तर, उनले बुझाएको स्वास्थ्य अवस्थाको रिपोर्टमा त्यसबारे ढाँटेको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार सुल्तान डिप्रेसनकै कारण सन् १९९३ मै चालकका लागि अयोग्य घोषित भएका थिए । तर, सन् २००२ मा पुनः फिट भएर जहाज उडाउन थालेका थिए । सुल्तानले अत्यधिक धूमपान गर्ने बानीबारे पनि स्वास्थ्य रिपोर्टमा लुकाएको आयोगले जनाएको छ । ‘चालक दलका अन्य सदस्यलाई सिकाउँदा क्याप्टेन नम्र र व्यावसायिक देखिए पनि अन्य विषयमा भने इमोसनल्ली डिस्टर्ब थिए,’ प्रतिवेदनमा उल्लेख छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १४ माघ २०७५, ०७ : ५८
लेखकबाट थप