विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै खोसिने

पत्रपत्रिकाबाट

शनिबार, १२ माघ २०७५, ०८ : ४५
विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै खोसिने

काठमाडौं । सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए । सोही सूचनामा भएको व्यवस्थाअनुसार अहिले विभागले मदिरा ल्याउन कडाइ गरेको र कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने बताउँदै महानिर्देशक रायाले भने,
‘अब ल्यापटप, मोबाइल पनि सूचनाअनुसार भन्दा धेरै आयात भएको भेटिए जफत गर्छौं ।’ अहिलेसम्म कानुनको प्रभावकारी कार्यान्वन नहुँदा समस्या देखिएको भन्दै उनले भन्सार विभागले त्यस्ता गतिविधिलाई अब नछाड्ने चेतावनी दिए ।

अब कानुनभन्दा धेरै केही पनि हुँदैन, कानुनअनुसारका कुनै पनि कुरा छाडिँदैन भन्दै उनले एउटा प्रज्ञापनपत्रबाट दुईवटा गाडी नछिर्ने दाबी गरे । उनले भन्सारमा गेट इन्ट्री मोडल कार्यान्वयन गरिएको भन्दै अब एउटै प्रज्ञापनपत्रबाट दुईवटा गाडी छिर्न नसक्ने बताए ।
‘पहिले यस्ता कुरा मैले पत्रिकामा देखें, अब त्यस्ता कुरा हुँदैन तर भारतसँग खुला सीमा भएका ठाउँमा धेरैवटा बाटा बनेका छन्, त्यहाँबाट सामान छिर्न सक्छन् ।’ उनले बाह्य व्यापारलाई सहज बनाउन भन्सार प्रणाली सुधारका काम भइरहेको बताए । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक रायाले यस्तो जानकारी गराएका हुन् । उनले सुधारका काम भइरहेको र अटोमेसनमा लैजाने बताए । उनले सरकारको यस्तो कार्यले मुलुकको आर्थिक वृद्धिमा निकै सहयोग हुने अपेक्षा गरिएको बताए ।

सरकारले गरेको यस्तो निणर्यमा निजी क्षेत्रले भन्सारको झन्झटले लागत बढाएको उनले बताए । सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारमा हुने ढिलासुस्तीले नेपालको अन्तर्राष्ट्रिय व्यापारको लागत बढाएको बताए । उनले व्यावसायिक लागत बढ्दा अन्तर्राष्ट्रिय रूपमा नेपाल प्रतिस्पर्धी बन्न नसकेको पनि उल्लेख गरे । लजिस्टिकका कारण मात्रै व्यापारको ५० प्रतिशत लागत बढेको बताउँदै ढकालले भने, ‘लागत कम गर्न सरकार र निजी क्षेत्र दुवै मिलेर काम गर्नुपर्छ ।’ कार्यक्रममा नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्माले भन्सार सुधारका क्षेत्रमा काम भइरहे पनि त्यो पर्याप्त नभएको बताए । यसैगरी, नेपाल उद्योग परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले भन्सार जाँचपासमा ढिलाइ हुँदा डिटेन्सनको समस्याले व्यवसायीलाई थप अप्ठेरो परेको बताए ।

प्रतिक्रिया दिनुहोस