सरकारको रेल, ‘पक्का रेल गुड्छ चाँडै नै गुड्छ’

पत्रपत्रिकाबाट

मंगलबार, ०८ माघ २०७५, ०८ : ०१
सरकारको रेल, ‘पक्का रेल गुड्छ चाँडै नै गुड्छ’

काठमाडौं । निर्माणाधिन जयनगर–कुर्था रेलमार्गमा सरकारको लगानीमा रेल खरिद गरी संचालन गर्ने तयारी भएको रेल विभागले जनाएको छ । गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समेत रेल किन्ने निर्णय गरेपछि खरिद प्रक्रिया अगाडि बढाउन सहमति मिलेको छ ।

विभागले मिति नतोके पनि चाँडै रेल संचालनमा आउने जनाएको छ । विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) अमन चित्रकारले जयनगर–कुर्थामा चाँडै रेल गुड्ने दाबी गर्नुभयो । ‘मिति नतोकौं तर चाँडै नै रेल गुड्छ–उहाँले भन्नुभयो ।
विभागले २ वटा रेल गुडाउने भने पनि बजेट भने १ वटा रेल किन्न सकिने बराबर विनियोजन गरेको छ । सरकारले यस वर्ष रेल किन्न भन्दै ५० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा रेल मार्ग निर्माणाधिन अवस्थामा छ भने विभागले यो अन्तिम चरणमा पुगेको जनाएको छ । पहिल्यै संचालनमा रहेको जयनगर–जनकपुरमा चलेको न्यारो ग्रेजकोलाई स्तरोन्नती गरेर जयनगर–कुर्था (३५ किमि)सम्म ब्रोड ग्रेजमा रेल मार्ग बनिरहेको विभागले जनाएको छ ।

रेल खरिद ठेकेदार नियुक्ति नगरी नेपाल–भारत सरकारबीच सिधा सम्झौतामा खरिद प्रक्रिया अगाडी बढाउने विभागको तयारी छ ।

सरकारले रेल किन्ने निर्णय गरे पनि रेलको अर्डर भने भएको छैन । अर्डर गरेको डेढदेखि ३ महिनाभित्र रेल नेपाल आउन सक्ने विभागका सिडिई चित्रकारले बताउनुभयो ।

डिजेलमार्फत चल्ने रेल संचालनमा ल्याउने तयारी सरकारको छ । छोटो दुरीका लागि उत्तम मानिने डेमु (डिजेल इलेक्ट्रिफाई मल्टिपल युनिट) रेल गाडी विभागको रोजाईमा छ ।

रेल संजालमा २ सय किमिसम्मको रेल मार्गलाई छोटो दुरी मानिन्छ । यद्यपि सरकारले नै रेल संचालन गर्ने भनिए पनि अहिलेसम्म नेपालसँग रेल संचालन गर्ने कुनै जनशक्ति नभएको बताइन्छ ।

रेल संचालनका लागि संकेत, सञ्चार, रेल मार्ग मर्मत गर्ने देखि पाईलट र को पाईलट जस्ता दक्ष जनशक्ति चाहिन्छ । यी जनशक्ति नेपालसँग छैन । विभागले रेल आफैंले किने पनि संचालनको जिम्मेवारी विदेशी नियुक्त गरेर २ वर्षसम्म संचालनमा ल्याउँदा उपयुक्त हुने सोच राखेको छ । यसो गर्दा नेपाली कामदारले दक्ष हुने अबसर पाउने विभागले जनाएको छ । यो समाचार नेपाल समाचार पत्रबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस