रक्तदान मानव सेवाको सबैभन्दा पुण्य काम : मेयर दाहाल

सफल खबर संवाददाता

मंगलबार, ०१ माघ २०७५, १३ : १९
रक्तदान मानव सेवाको सबैभन्दा पुण्य काम : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रक्तदान मानव सेवाको सर्वोत्कृष्ट दान तथा पुण्यकर्म भएको बताउनु भएको छ । चितवन महोत्सवको अवसरमा महोत्सव परिसरमा भिमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र स्याङ्जा नेवा गुठीद्वारा सोमबार आयोजित रक्तदान कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले मानव शरीरमा तीन महिनामा त्यसै खेर जाने रगतलाई दान गरेर मानव जीवन बचाउन सकिने बताउनु भयो । प्रमुख दाहालले भरतपुरवासीलाई रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै नियमित रक्तदान गरी सेवा गर्न आह्वान समेत गर्नुभयो । ‘चितवन देशकै मध्य भागमा पर्दछ, त्यसमाथि भरतपुर मेडिकल सिटीको रुपमा विकसित हुँदैछ । त्यसैले पनि महानगरवासीको नियमित रक्तदानको आवश्यकता बढ्दो छ । यसलाई पूरा गर्न म सबैलाई नियमित रक्तदान गर्ने बानी बसाल्न आग्रह गर्दछु ।’

रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्दै मेयर दाहालले रगतको बढ्दो आवश्यकतालाई पूरा गर्न भरतपुरले विशेष भूमिका खेल्नुपर्ने बताउनु भयो । रगत मानव जीवनको अभिन्न पक्ष भएको बताउँदै उहाँले भरतपुर महानगरपालिकाले रक्तदानलाई उत्प्रेरित गर्न विभिन्न निकाय तथा संघसंस्थाहरुलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने बताउनु भयो । भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखा, नेपाल रेडक्रस सोसाईटी भरतपुरको सहकार्यमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष तथा चितवन महोत्सव आयोजक मूल समारोह समितिका संयोजक सहनलाल प्रधान लगायत १ सय १२ जनाले रक्तदान गरेका थिए । कार्यक्रम भिमशेन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । 


 

प्रतिक्रिया दिनुहोस