मन्दिरको सक्कली शिला चोरेर नक्कली फिर्ता

सोमबार, २४ पुस २०७४, १२ : ३३
मन्दिरको सक्कली शिला चोरेर नक्कली फिर्ता

बेंसीशहर, लमजुङ । बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो ।

बेंसीशहर नगरपालिका वडा नं ८ मा रहेको नारायण मन्दिरभित्रको शालिग्रामका शिला एक महिनाअघि नै चोरी भएको भए पनि पछिमात्रै चर्चामा आएको हो । गत मंसिर २२ गते शिला हराएको र तत्काल मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएको मन्दिरका पुजारी सोमराज घिमिरेले बताए ।

“गत मंसिर १९ गते मैले शालिग्रामका शिला पूजा गरी नुहाएर राखेको थिएँ, २१ गतेसम्म शिला थियो”– पुजारी घिमिरेले भन्नुुुुभयो, “२२ गते पूजा गर्न खोज्दा भेटिएन, मैले तत्काल समितिलाई जानकारी गराएँ ।”

मन्दिरको तोडफोड नगरी शिला हराएको हुँदा समितिभित्रका मध्येबाट नै चोरी भएको हुनसक्ने आशंका गरिएको छ । शिला हराएको अघिल्लो दिन समिति सदस्य एवं पण्डित बालकृष्ण सुवेदी मन्दिरभित्र छिरेको र पण्डित सुवेदीले नै शिला चोरेको पुजारीको आरोप छ ।

“शिला हराएको अघिल्लो साँझ सुवेदी गुरुले मन्दिरको साँचो माग्नुभयो, मैले आनाकानी गरेको थिए ।” घिमिरेले भने, “सबैले मानिआएका गुरुले भगवान्को दर्शन गर्नुछ”– भने गुरुले माग्दा के नदिनु भनेर साँचो दिएको हुँ ।”

चोरी आरोपित पण्डित सुवेदीले आफूले शिला चोरी नगरेको दाबी गरेका थिए । तर आफूमाथि आरोप लागेपछि २४ थान शालिग्राम शिला मन्दिर व्यवस्थापन समितिलाई बुझाएको समिति सदस्य नरहरि वाग्लेले बताए ।

पण्डित सुवेदीले बुझाएको शिला नक्कली भएको वाग्लेको भनाइ छ । “उनले शिला चोरेको होइन पनि भन्छन् । “फेरि समितिलाई २४ थान बुझाए”– वाग्लेले भने, “उनले बुझाएकामध्ये तीन÷चार वटा सक्कली शालिग्राम हो अरु सबै नक्कली हो ।” मन्दिरको समिति, पुजारी, भक्तजन, स्थानीय र प्रशासनसहितको संरक्षणमा रहेको मन्दिरबाट शालिग्राम हराउनु र सबैजना मौन रहनुमा कुनै रहस्य भएको स्थानीयको गुनासो छ ।

मन्दिरमा रहेका पुराना र महत्वपूर्ण शालिग्राम शिला चोरी भएको एक महिना पूरा भइसक्दा पनि समितिले कतै उजुरी नगर्नु कारबाहीको प्रक्रिया अघि नबढाउँदा स्थानीय आक्रोशित भएका छन् । दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

“चोर पनि पत्ता लागिसकेको छ, समितिले न घटना सार्वजनिक गर्छ न चोरलाई कारबाही गर्छ”– स्थानिय कृष्णलाल प्रधानले भन्नुभयो, “समितिका मान्छेको पनि मिलेमतो हुनुसक्छ, हामी यसलाई गुपचुप हुन दिँदैनौँ, दोषीलाई कारबाही हुनैपर्छ ।”

पुरानो शिला भएकाले यसको मूल्य निकै महँगो हुने सरोकारभएकाहरु बताउँछन् । पण्डित सुवेदीले महँगो मूल्यमा सक्कली शिला बेचेर खोलाबाट नक्कली ल्याएर समितिलाई बुझाउँदै उम्किन खोजेको स्थानीयको आरोप छ ।

मन्दिरमा राखिएका शालिग्राम गणना गर्न हुँदैन भन्ने विश्वासका कारण कति चोरी भए भन्ने यकिन छैन । विक्रम संवत् १६६१ मा लमजुङे राजा सचिन्द्र शाहद्वारा लक्ष्मीनारायण मन्दिरको निर्माण गरिएको र कालीगण्डकीबाट शालिग्राम ल्याएर लक्ष्मीनारायणको शक्तिको प्रतीकका रूपमा प्रतिस्थापना गरिएको अग्रजको भनाइ छ ।(रासस)

प्रतिक्रिया दिनुहोस