हराउँदै गए गन्धर्वका बेदनाका गीत

सोमबार, २४ पुस २०७४, १२ : २७
हराउँदै गए गन्धर्वका बेदनाका गीत

बेनी, म्याग्दी । कुनै समय गीत गाउने गन्धर्व गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने गन्धर्व गाइने पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् ।

दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर व्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज पेशा परिवर्तन गरेर वैकिल्पक पेशाको खोजीमा छन् । समाजमा घटेका घटनालाई जस्ताको तस्तै स्वरको मालामा उनेर सबैको मनै छुने गरी गीत गाउँदै घरघरमा पुग्ने गन्धर्व गायनबाटै जीविका चलाउने अवस्था नरहेपछि पेशा परिवर्तन गरेका हुन् । उमेरले ७५ वर्ष पुगिसक्नुभएका म्याग्दी खबराका लालबहादुर गन्धर्व भने आफ्नो पेशालाई सकिनसकी गाउँगाउँमा पुगेर सुनाउने गर्छन् ।

लालबहादुर गन्धर्वले आज पनि सात जनाको परिवारलाई गीत गाएरै पाल्नुभएको छ आजभोलि पहिलेको जस्तो गीत गाउँदै घरघरमा पुग्न पनि छोडिसकेको यो समयमा उहाँले भने आफ्नो पुर्खाको पेशालाई बचाई राख्नुभएको छ । धेरै पहिलेदेखि आफूले गीत गाउँदै जीविका चलाउँदै गरेको बताउनुहुन्छ– लालबहादुर गन्धर्व ।

सारंगीको मिठो धुनको तालमा सँगसँगै गीत गाउँदा सुन्ने पनि आनन्दित हुन्छन् जनताले पनि गाइनेको सुरिलो स्वर नसुनेको धेरै भइसकेको छ । पछिल्लो समय गाइने पनि गीत गाउने पेशा छाडेर अन्तै अरु काममा लाग्न थालेका छन् । जसले गर्दा अबका केही वर्षमा कुनै समयका समाचारका स्रोत समाजका सूचक गाइनेलाई गीत गाउँदै हिँडेको कसैले पनि देख्न नपाउने लालबहादुरले बताए ।

नेपालमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा पनि गाइनेको ठूलो सहयोग रहेको स्थानीय टीकाबहादुर थापाले बताए । “उनीहरु जनताको घरघरमा पुगेर परिवर्तनका गीत गाउँदै जनतालाई सुुशोचित पार्ने काम गर्थे त्यसैले उनीहरुले गरेको यो कामलाई कसैले पनि भुल्ने छैनन्”– थापाले भने ।(रासस)

प्रतिक्रिया दिनुहोस