डा. जगमान गुरुङ
उपकुलपति, प्रज्ञा प्रतिष्ठान
तमु ल्होसार गुरुङ समुदायको सबैभन्दा ठूलो चाड हो । तमुको अर्थ गुरुङ र ल्होसारको अर्थ नयाँ वर्ष हो । यसर्थ, गुरुङ समुदायमा आजदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुंगीको स्वरूपअनुसार तमु वर्ष मनाइन्छ । ती जनावरहरूमा मुसा, गोरु, गाई, खरायो, चिल, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकुर, मृग र सुँगुर पर्छन् । ल्होसार विभिन्न नाममा मनाइने भए पनि सबैको अर्थ नयाँ वर्ष नै हो ।
स्वदेशसँगै विदेशमा पनि
ल्होसार अघिल्लो रात (१४ गते) पूजापाठ, नाचगान र भोजभतेर गरी ‘आयो नयाँ वर्ष’ भन्दै मनाइन्छ । गुरुङ समुदाय उक्त रात वर्षकै सबैभन्दा चिसो र लामो रात रहने विश्वास गर्छन् । यो पर्व गुरुङ जाति बसोवास गर्ने नेपालका विभिन्न भागसँगै बेलायत, हङकङ, अस्टे«लिया, ब्रुनाई, जर्मनी, भारत आदि देशमा
पनि मनाइन्छ ।
स्यो कैँ
स्यो कैँ तमु ल्होसारका दिन गुरुङ समुदायमा खाइने विशेष प्रकारको खाना हो । स्यो कैँको अर्थ सहभोजन भन्ने हुन्छ । तसर्थ, यो खाना तमु ल्होसारको दिन समूहमा बसेर खाने गरिन्छ । स्यो कैँ कुनै एउटा खाना नभई सबैले पैसा उठाएर खाइने सामान्य खाना हो । पुस १५ देखि दिन लामो हुने, चिसो घट्ने र नयाँ वर्षको सुरुवात हुने मान्यताअनुसार स्यौ कैँ खाने गरिएको हो । यसभित्र मासु–भात, सेलरोटी, तरकारी र अन्य खाना पर्छन् । यीबाहेक नयाँ वर्षमा खिउनी, सेल, नारेपा, झिलिंगा, आलुदङ आदिजस्ता पम्परागत खाना खाने गरिन्छ ।
एकताको पर्व
गुरुङ समुदायका सबै मानिस एकै ठाउँमा भेला भएर मनाउने भएकाले तमु ल्होसारलाई एकताको पर्वसमेत भनिन्छ । पहिले–पहिले तिहारमा देउसी–भैलो खेलेर जम्मा भएको पैसा र खानेकुराले पुस १५ मा स्यो कैँ खाइने चलन थियो । - नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस