हलेसीबाटै रक्षामन्त्री प्रधानले दिए सेनाका कमाण्डरलाई कडा निर्देशन

रासस

आइतबार, २३ पुस २०७४, १६ : ०४
हलेसीबाटै रक्षामन्त्री प्रधानले दिए सेनाका कमाण्डरलाई कडा निर्देशन

खोटाङ । रक्षामन्त्री भीमसेनदास प्रधानले हलेसीका आगलागीबाट प्रभावित क्षेत्रको निरीक्षणका साथ पीडितसँग भेटघाट गरी पीडितका माग मन्त्रिपरिषदमा राखेर आवश्यक सहयोगका लागि निर्णय गराउने आश्वासन दिएका छन् ।

धार्मिक एवम् पर्यटकीयस्थल हलेसीमा पुस १८ गते राति भएको आगलागीमा १३ घरको रु पाँच करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो ।  आज बिहान हलेसीको दर्शन गरेर रक्षामन्त्री प्रधानले घटनास्थलबाटै सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।

आगलागीमा घरसहित सर्वस्व गुमाएपछि नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमकै अर्को घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दासलगायत आगलागी पीडित अस्थायी टहरामा कष्टपूर्ण दिन बिताइरहेका छन् ।

अर्को आगलागी
विद्युत् चुहिएर रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल डाँडाछापका भीमबहादुर विश्वकर्माको घरमा शनिबार राति आगलागी भएको छ । आगलागीमा विश्वकर्माको रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगो प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस