नेपाल-भारत सीमा व्यवस्थापन सुदृढीकरणका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

सफल खबर संवाददाता

बुधबार, २३ बैशाख २०८३, १२ : ४२
नेपाल-भारत सीमा व्यवस्थापन सुदृढीकरणका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

काठमाडौँ । नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था, आवागमन सहजीकरण तथा पूर्वाधार सञ्चालनसम्बन्धी समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित दुवै देशका सुरक्षा तथा सम्बन्धित निकायका उच्च अधिकारीबीच समन्वय बैठक सम्पन्न भएको छ।

रुपैडिहास्थित एकीकृत जाँच चौकी (आईसीपी) मा आयोजित उक्त बैठकमा भारतको सशस्त्र सीमा बल (एसएसबी), नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) तथा भारतीय रेल सेवासँग सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा सीमा क्षेत्रको सुरक्षा संयन्त्र, यात्रु आवागमनको व्यवस्थापन, रेल सेवा सञ्चालन र आपसी सहकार्यका विविध पक्षमा विस्तृत छलफल गरिएको सशस्त्र प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिएका छन्।

भारतीय पक्षका अधिकारीहरूले द्विपक्षीय समन्वयलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै सीमा क्षेत्रमा सुरक्षा तथा सेवा प्रवाह सुधार गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन्। बैठकमा दुवै देशका सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरूसहित भारतीय रेलवे र यातायातसम्बन्धी निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

बैठकपश्चात् सहभागीहरूले रुपैडिहा नजिकै अवस्थित नव-निर्मित नेपालगञ्ज रोड रेल्वे स्टेशनको स्थलगत अवलोकन गरेका थिए। निरीक्षणका क्रममा रेल पूर्वाधार, सुरक्षा प्रबन्ध तथा सञ्चालन तयारीका विषयमा जानकारी लिइनुका साथै नेपाल-भारत रेल सम्पर्क विस्तार र सम्बन्धित परियोजनाहरूका प्रगतिबारे पनि छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस