जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते

सफल खबर संवाददाता

मंगलबार, २२ बैशाख २०८३, ०७ : ३६
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते

एजेन्सी । जर्मनीको पूर्वी सहर लेइपजिगमा सोमबार दिउँसो एक तीव्र गतिको कार भीडभित्र छिर्दा दुई जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार सहरको मध्यभागमा पर्ने ग्रिमाइसे स्ट्रसे क्षेत्रमा यो दुःखद घटना भएको हो।

लेइपजिगका मेयर बुर्खार्ड जुङले ३३ वर्षीय जर्मन नागरिकलाई संदिग्ध अपराधीको रूपमा पक्राउ गरिएको जानकारी दिएका छन्। घटनाको वास्तविक उद्देश्य अझै स्पष्ट भइनसकेको भए पनि प्रहरीले यसबारे अनुसन्धान सुरु गरिसकेको छ।

लेइपजिगका अग्नि नियन्त्रण प्रमुख एक्सेल शुका अनुसार यस घटनामा २२ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ। लेइपजिग प्रहरी प्रवक्ता सुसाने लुब्केले बताएअनुसार स्थानीय समय साँझ ५:३५ बजे एक व्यक्तिले अगस्टसप्लाज हुँदै ग्रिमाइसे स्ट्रसेतर्फ तीव्र गतिमा गाडी गुडाएका थिए।

लुब्केका अनुसार अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले यो कार्य एक्लो व्यक्तिले गरेको देखाएको छ। उनले सार्वजनिक सुरक्षामा थप खतरा नरहेको पनि स्पष्ट पारेकी छिन्।

लेइपजिग सरकारी वकिलको कार्यालयले मृतकहरू ६३ वर्षीया महिला र ७७ वर्षीय पुरुष रहेको पुष्टि गरेको छ, जो दुवै जर्मन नागरिक हुन्। संदिग्ध व्यक्तिमाथि हत्या र हत्याको प्रयासको अभियोगमा अनुसन्धान भइरहेको छ।

अधिकारीहरूका अनुसार हालसम्मको प्रमाणले यस घटनामा कुनै धार्मिक वा राजनीतिक उद्देश्य रहेको देखाएको छैन। स्याक्सोनी राज्यका प्रमुख माइकल क्रेचमरले संदिग्ध व्यक्ति पहिलेदेखि नै मानसिक रोगबाट पीडित रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस