काठमाडौँ। प्रतिनिधि सभा सदस्यलाई कूटनीतिक राहदानी उपलब्ध गराउने व्यवस्था सहज बनाउने उद्देश्यले विद्यमान कानुनी प्रावधान परिमार्जन गर्ने विषयमा छलफल सुरु भएको छ।
सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतकहरूसँग उक्त विषयमा प्रारम्भिक परामर्श गरेका हुन्। छलफलमा हालको राहदानीसम्बन्धी कानुनी ढाँचाभित्र रहेर आवश्यक संशोधनमार्फत सांसदहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउने विकल्पबारे विचार-विमर्श भएको जनाइएको छ।
राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीका अनुसार सांसदहरूले कूटनीतिक राहदानीको आवश्यकता औँल्याउँदै आएका छन्। तर, प्रचलित कानुनअनुसार सरकारी कार्य वा विशेष जिम्मेवारीमा विदेश जाने निश्चित पदाधिकारीहरूलाई मात्रै यस्तो राहदानी दिने व्यवस्था भएकाले सांसदहरूको हकमा व्यवहारिक कठिनाइ देखिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै कानुनी व्यवस्थालाई परिमार्जन गरी सहजीकरण गर्ने उपायबारे छलफल केन्द्रित भएको उनले जानकारी दिइन्।
छलफलका निष्कर्षहरू सम्बन्धित दलभित्र पनि आन्तरिक रूपमा समीक्षा गर्ने र आवश्यक सुझावसहित पुनः सभामुखसँग थप संवाद अघि बढाउने समझदारी भएको बताइएको छ। साथै संसद सञ्चालन र सांसदसम्बन्धी विषयमा सभामुखको सक्रियता सकारात्मक रहेको प्रतिक्रिया समेत सहभागी पक्षबाट व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ बैशाख २०८३, १४ : २१
लेखकबाट थप