स्याउका बोट सेताम्मे

रासस

विहीबार, ०३ बैशाख २०८३, ११ : ३६
स्याउका बोट सेताम्मे

मुस्ताङ । यहाँको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरू फुलेर सेताम्मे हुँदै जान थालेका हुन् ।

स्याउको राजधानीका रूपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरूमा फूल फुलेर सेताम्मे हुन थालेको बताए। 

स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उनको भनाइ छ । स्याउलाई शीतोष्ण प्रदेशीय फलफूलको राजा भन्ने गरिएको उनको भनाइ छ । स्याउको फूल र फल लाग्न ४५ दिनको समय सात डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्ने जनाइएको छ । त्यसपछि स्याउको फूल फुल्ने र फल लाग्ने समयमा तापक्रम न्यूनतम १० डिग्रीदेखि २० डिग्री सेल्सियससम्म तापक्रम आवश्यकता पर्ने प्राविधिक सहायक राउतले उल्लेख गरे । 

मुख्यगरी असोज र कात्तिक महिनामा स्याउको ‘पोस्ट हार्भेस्ट’ गरिएपछि स्याउ बोटको काँटछाँटलगायत स्याउको बगैँचा व्यवस्था गरेपछि बर्सेनि चैत र वैशाख महिनामा स्याउको फूल फुल्ने प्राविधिक सहायक राउतले जानकारी दिए।

स्याउको गुणस्तर तथा उत्पादन वृद्धिका लागि स्याउ बोटमा फूल फुल्ने बेला पोलिनेशन (परागसेचन) आवश्यकता पर्दछ । स्याउका कतिपय प्रजातिहरू स्वतः प्राकृतिक रूपमा परागसेचन हुने र कतिपय स्याउका जातहरूलाई पर परागसेचनको आवश्यकता पर्ने प्राविधिक सहायक राउतले बताए। 

परागतसेचनका लागि हावा र मौरीको भूमिका हुने उनले जनाए । एक हेक्टर स्याउको क्षेत्रफलमा करिब छदेखि आठ वटासम्म मौरी घारको व्यवस्थापन गर्न सकिएमा स्याउको उपयुक्त ढंगबाट परागसेचन भई उत्पादन र गुणस्तर बढाउने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस