सात प्रदेशका १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने

शनिबार, ०७ पुस २०७५, १४ : २१
सात प्रदेशका १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने

चितवन l सात प्रदेशका १५ जिल्लामा यस वर्ष राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा जानकारी दिइएको हो ।

सरकारले पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीलाई कार्ड वितरण गर्ने काम शुरु गरिसकेको छ । जिल्लाका १६ वर्षमाथिका जनतालाई यो कार्यक्रममा सहभागी गराइने छ । विभागका महानिर्देशक दीपक काफ्लेले कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्य, परिचय, राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी सन्दर्भ तथा नीतिगत व्यवस्था, दीर्घकालीन सोच र परिकल्पना, रणनीतिक उद्देश्यलगायतका बारेमा प्रकाश पार्नुभएको थियो ।

 प्रदेशसभाका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहाल, प्रदेशसभा सदस्य रिना गुरुङ, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलगायतले परिचयपत्र वितरणमा देखिने समस्यालाई निराकरण गर्दै अघि बढ्नुपर्ने बताउनुभएको थियो । सरकारले विदेशी नागरिक छ महीनाभन्दा बढी नेपालमा बसोबास गरे परिचयपत्र दिनसक्ने व्यवस्था गरेको भन्दै उहाँहरूले यसलाई अझै बढाउनु पर्ने माग राख्नुभएको थियो ।

विसं २०६८ को जनगणनाअनुसार चितवनमा तीन लाख ४९ हजार ९२ लाई परिचयपत्र वितरण गरिने छ । नागरिकका जैविक तथा वैयक्तिक विवरण र विद्युतीय चिप एवं सुरक्षणसहितको सो परिचयपत्रले सरकारी, गैरसरकारी निकाय, बैंक, टेलिकम, व्यावसायिक सेवा प्रदायक संस्थाले प्रयोग गर्ने रजिष्टे«शन फारमलाई विद्युतीय (डिजिटाइज्ड) गर्न मद्दत पुग्ने छ ।

राष्ट्रिय सुरक्षा कायम गर्न नेपाली एवं विदेशी नागरिकका गतिविधिको अनुुगमन गरी आपराधिक र आतङ्कवादी क्रियाकलापलाई नियन्त्रण गर्न सहज हुने उद्देश्यले सरकारले यो कार्यक्रम गर्न लागेको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस