पार्टी एकतामा गृहकार्य जारी, निर्णायक वार्ताको प्रतीक्षा

रासस

शनिबार, २२ पुस २०७४, २० : १९
पार्टी एकतामा गृहकार्य जारी, निर्णायक वार्ताको प्रतीक्षा

प्रकाश सिलवाल/ रमेश लम्साल

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबारे आपसी गृहकार्य जारी रहे पनि दुवै पार्टीका अधिकांश नेता कसरी र कहिले एकता हुन्छ भन्नेमा स्पष्ट भइसकेका छैनन् ।

एकता प्रक्रियामा कुनै समस्या नरहेको र चाँडै एकता हुनेमा ढुक्क देखिएका ती नेताले पार्टीका अध्यक्षबीच यसबारे ठोस सहमतिको प्रतीक्षामा छन् ।

दुई पार्टीका अन्य नेताहरु एकता प्रक्रियामा सामेल भए पनि उनीहरु यसको भित्री पक्षबारे प्रतिक्रिया दिन अग्रसर नदेखिनुले दुई अध्यक्षको वार्ता र सहमति नै निर्णायक हुने देखिन्छ । एमालेको यही पुस १३ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार गठन र पार्टी एकतालाई तीव्रता दिने निर्णय गरेको थियो भने केन्द्रको यही पुस १८ गतेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको विषय जनअनुमोदित भइसकेकाले यसलाई द्रुत गतिमा अघि बढाउने निर्णय लिएको थियो ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चाँडै हुने वार्ताले एकता प्रक्रियालाई निर्णायक बनाउने देखिएको छ । केही दिनयता एमाले अध्यक्ष ओली सामान्य अस्वस्थ भएका कारण दाहालसँग भेटवार्ता हुन सकेको थिएन ।

आज हुने भनिएको भेटवार्ता मौसमको खराबीका कारण केन्द्रका अध्यक्ष दाहालको चितवनबाट काठमाडौँ उडान नभएपछि स्थगन भएको छ । पार्टी एकता महाधिवेशनअघि एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र केन्द्रका अध्यक्ष दाहाल पार्टी अध्यक्ष हुने वा दुवै अध्यक्षको संयुक्त नेतृत्वमा पार्टी सञ्चालन हुने भन्ने विषयमा ठोस निर्णयको नभएकाले अन्य प्रक्रिया अघि नबढेको नेताहरुले जनाएका छन् । राष्ट्रियसभाको निर्वाचनपछि मात्र नयाँ सरकार बन्ने भएकाले पनि पार्टी एकताका लागि नेतामा हतारो नदेखिएको देखिन्छ ।

एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले दुई अध्यक्ष निरन्तर सम्पर्कमा रहनुभएको र प्रत्यक्ष वार्तापछि एकता संयोजन समितिको बैठकबाट एकता प्रक्रियाले गति लिने बताउनुभयो । कहिले हुन्छ त एकता भन्ने प्रश्नमा नेता नेम्वाङ भन्छन् , “ढुक्क हुनुस् यसले चाँडै मूर्तरुप लिनेछ ।”

केन्द्रका नेता गिरिराजमणि पोखरेलले आफूहरुको एकतालाई जनताले अनुमोदन गरिसकेकाले कुनै नेताले एकता गर्दिनभन्दा पनि सुख नपाउने दाबी गरे  । उनले  गठबन्धन टुट्ने कुनै सम्भावना नरहेको स्पष्ट गरे  ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले  पनि दुई पार्टीबीच अनौपचारिकरुपमा छलफल जारी रहेको तर कसरी एकता प्रक्रिया अघि बढाउने भन्नेमा ठोस निष्कर्ष नआइसकेको बताए । उनले भने, “हाल क्रियाशील पार्टी एकता संयोजन समितिलाई नै निरन्तरता दिई त्यसलाई नै सबै विषय मिलाउन जिम्मा दिने कि भन्ने पनि विकल्प आएको छ ।”

थापाले बाहिर चर्चामा आएजस्तो आफूहरुबीच विवाद नरहेको र एकता नहुने हो कि भन्ने आशङ्का गर्नु नपर्ने दाबी गरे ।
एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले शीर्ष तहमा छलफल चलिरहे पनि सांगठनिक स्वरुप र खाकाबारे स्पष्ट भइनसकेको जानकारी दिए  ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअघि पार्टी एकताको घोषणासहित गठबन्धनमा सामेल यी दुई दलले सरकार गठन र एकताको कार्यलाई सँगसँगै अघि बढाउने जनाउँदै आए पनि यसबीचमा भएको प्रगति बाहिर आएको छैन । दुवै दलका नेताले गठबन्धन नटुट्ने, पार्टी एकता चाँडै हुने र स्थिरता तथा समृद्धिको यात्रा भने नरोकिने अभिव्यक्ति पटक पटक दिँदै आएका छन् ।

सम्मानजनक र भावनात्मक पक्षलाई आत्मसात् गरी एकताको प्रक्रियामा जुटेका यी दलले एमालेको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले आत्मसात् गरेको ‘एक्काइसौँ शताब्दीको जनवाद’को सैद्धान्तिक विचारबीचको मिलनमा पनि समस्या नभएको औँल्याउँदै आएका छन् ।

मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र आर्थिक समृद्धिको मार्गप्रशस्त गर्न एउटै कम्युनिष्ट पार्टी बनाउन अन्य साना वामपन्थी शक्तिलाई पनि समेट्न एमाले र केन्द्रले कसरत गरिरहेका छन् ।

राजनीतिक, सांगठनिक तथा तत्कालीन कार्ययोजना बनाएर एकता महाधिवेशनमार्फत हाल बाँकी रहेका विषय हल गर्ने तयारी दुवै पार्टीले गरे पनि दुई अध्यक्षसँगको वार्तापछि मात्रै यी विषयले मूर्तरुप लिनेछन् ।

निर्वाचनपूर्व गत असोज १७ मा दुई पार्टीबीच भएको चुनावी तालमेल र पार्टी एकताको घोषणादेखि नै एकता प्रक्रिया शुरु भएको नेताहरूले जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस