मादी नदीबाट अवैध ढुङ्गा बालुवा निकासी

विहीबार, ०५ पुस २०७५, १४ : ४८
मादी नदीबाट अवैध ढुङ्गा बालुवा निकासी

कास्की । कास्कीको मादी नदी किनारस्थित कुनाकोमुख र मादबेँसी क्षेत्रबाट अवैधरूपमा नदीजन्य पदार्थ चोरी–निकासी हुने गरेको तथ्य खुलेको छ । लमजुङसँग सीमा जोडिएको रूपा गाउँपालिका–७ अन्तर्गत पर्ने सो क्षेत्रबाट गएको दुई महीनादेखि लगातार दिनमा तथा रातको समयमा समेत नदीबाट ढुङ्गा, बालुवा निकालेर लैजाने गरेको सूचनाका आधारमा बुधबार गरिएको अुनगमनका क्रममा ठूलो परिमाणमा ढुङ्गा तथा बालुवा अवैधरूपमा सङ्कलन गरी जम्मा गरिएको फेला परेको गाउँपालिकाका प्रमुख नवराज ओझाले बताउनुभयो ।

अनुगमन निरीक्षणका क्रममा कुनाकोमुख क्षेत्रबाट बालुवा अनुमानित २५१ घनमिटर तथा ढुङ्गा १४५ घनमिटर जफत गरिएको छ ।

त्यस्तै मादबेँसीबाट बालुवा ६३घनमिटर, ढुङ्गा तीन घनमिटर तथा कोइलानी क्षेत्रबाट बालुवा ७२ घनमिटर तथा ढुङ्गा १२ घनमिटर फेला पारी सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले गएको साउन महीनामा पालिकाअन्तर्गतका तीन वटा घाटबाट ढुङ्गा, बालुवा उत्खननका लागि बोलपत्र आह्वान गरेको थियो ।

अन्य दुई स्थानको बोलपत्र दर्ता भएर स्वीकृत भए पनि कुनाकोमुखदेखि मादबँेसीसम्मको घाटमा पाँच पटकसम्म बोलपत्र आह्वान गर्दा पनि एउटा पनि दर्ता नभएको प्रमुख ओझाको भनाइ छ । गाउँपालिकाले पाँच पटकसम्म बोलपत्र आह्वान गर्दा पनि नपरेपछि खोजी गर्दै जाँदा अवैधरूपमा चोरी गरेर लैजाने गरेको तथ्य फेला परेको ओझा बताउनुहुन्छ ।

प्रमुख ओझाले भन्नुभयो, “चोरी–निकासी गरेर ठाउँठाउँमा जम्मा गरेको बालुवा ढुङ्गा सिल गरेका छौँ । त्यसमा संलग्नहरूको पहिचान भइसकेकाले थप अनुसन्धान गरेर गैरकानूनी कार्य गर्नेहरूलाई कानूनअनुसार कारवाही गर्छौँ ।” स्थानीयवासीले वडाका केही जनप्रतिनिधिसमेत अवैध ढुङ्गा, बालुवा सङ्कलन तथा ओसारपसारमा संलग्न भएको हुनसक्ने आशङ्का गरेका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस