कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

विहीबार, ०५ पुस २०७५, १२ : ३६
कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

बेझाड । अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन् । 

दिउँसो वडा कार्यालयमा कामका लागि पुग्नुभएकी रामपुर नगरपालिका–६ का लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्कनुपरेको बताउनुभयो । “मेरो अति आवश्यक काम परेका कारण साँझपख आन्दोलनको समय सकिएपछि वडा कार्यालयमा सेवा लिन पुगेँ”, उहाँले भन्नुभयो । 

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाइ समिति रामपुर नगरपालिकाका कर्मचारीले मङ्गलबारदेखि आन्दोलन शुरु गरेका हुन् । मङ्गलबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म, बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरेको समितिका सचिव वासुदेव ढकालले जानकारी दिनुभयो । 

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आन्दोलन जारी राख्ने उहाँले बताउनुभयो । पाँच वडा सचिव, तीन इञ्जिनीयर, दुई सबइञ्जिनीयर, पाँच सामाजिक परिचालक, १४ कार्यालय सहयोगी, तीन सवारी चालक गरी ३२ आन्दोलित कर्मचारीले कार्यालको कामकाज ठप्प पारेका छन् । 

कर्मचारीको समायोजनामा स्थानीय निकायका कर्मचारीलाई सम्मानजनक व्यवस्था हुनुपर्ने, साविकका काम गर्दै आएका अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकको सेवाको निरन्तरताका साथै कर्मचारीको सुविधा, केही प्रक्रिया पुगेका र लामो समय काम गरेका कर्मचारीलाई विशेष मौका दिई प्रक्रिया पु¥याएर स्थायीको माग गर्दै कर्मचारी समायोजन ऐन २०७५ मा स्थानीय तहमा कार्यरत (जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) कर्मचारीलाई समायोजनमा समावेश गरियोस् भनी आन्दोलन गरिएको नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाइ समिति रामपुर नगरपालिकाका अध्यक्ष मदन पराजुलीले बताउनुभयो । 

नगरपालिका कार्यालय र दशवटै वडा कार्यालयमा कार्यरत कर्मचारी आन्दोलन गरेपछि कार्यालय सुनसान बनेको छ । सम्बन्धित कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले कार्यालयबाट सेवा नपाएपछि फर्कन बाध्य भएका छन् । बुधबार भने दिउँसो २ बजेपछि नगरपालिकाका केही वडा कार्यालयमा अति आवश्यक सेवा लिन जानेको चहलपहल देखिन्थ्यो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस