काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाही गरेका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले आफूमाथि भएको कारबाही विधान सम्मत नभएको दाबी गरेका छन् ।
उनीहरूले शनिबार विज्ञप्ति जारी गरेर प्राकृतिक न्यायको सिद्धान्तअनुकूल स्पष्टीकरणको मौकासमेत नदिएर केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अधिकारक्षेत्र मिचेर पदमुक्त गर्ने अधिकार पार्टीको विधानले नदिएको स्मरण गराएका छन् ।
कारबाही गर्दैमा मूल नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त नहुने उनीहरुले बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई पदमुक्त गरियो भन्ने नोटिस अनलाइन माध्यममा देख्यौं । प्राकृतिक न्यायको सिद्धान्तअनुकूल स्पष्टीकरणको मौकासमेत नदिई केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अधिकारक्षेत्र मिचेर यस किसिमले पदमुक्त गर्ने अधिकार राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानले अध्यक्षलाई दिएको छैन, अत: कथित कारबाही विधानसम्मत छैन ।’
‘त्यसैले पहिलो प्रश्न, विधानको अवज्ञा गर्दै चरम स्वेच्छाचारिता प्रदर्शन गरेर हामीलाई पदमुक्त गर्नुपर्ने अवस्था वा बाध्यता के कारण आइलाग्यो ? पार्टी विधानको कुन धारा र व्यवस्थामा टेकेर अध्यक्षबाट हामीलाई पदमुक्त गरिएको हो ? यस विषयमा हामी दुई मात्र नभई केन्द्रीय कार्यसमिति स्वयम बेखबर रहेकोमा जानकारी सार्वजनिक गर्न हुन अध्यक्षज्यूलाई हामी विनम्र अनुरोध गर्दछौं । पार्टी अध्यक्षबाटै पार्टीको विधान, केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अवमूल्यन भएकोमा दु:ख र खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
शर्मनाक असफलताको पूर्ण जिम्मेवारी नेतृत्वले मात्र थोपरेर ध्यान अन्यत्र मोड्दैमा लज्जास्पद हारको नतिजा र तथ्याङ्क परिवर्तन नहुने उनीहरूले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० फागुन २०८२, १२ : १७
लेखकबाट थप