काठमाडौँ । इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल, इरान र उसका सहयोगी समूहहरूबीचको द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ । अमेरिकी समर्थनमा इरानमाथि भएको ठूलो आक्रमण र इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्यापछि सुरु भएको तनावले क्षेत्रीय युद्धको रूप लिने संकेत देखिएको छ ।
तेहरान समर्थित शिया आन्दोलन हिजबुल्लाहले खामेनीको हत्याको बदलामा इजरायलतर्फ रकेट तथा ड्रोन प्रहार गरेको दाबी गरेपछि इजरायली सेनाले बेरुतसहित दक्षिणी लेबनानमा तीव्र आक्रमण गरेको जनाएको छ । सिडोन क्षेत्रमा सर्वसाधारण घर छाडेर भागेका छन् भने राजधानी बेरुतमा बिहानै विस्फोटका आवाज सुनिएको थियो ।
यसैबीच अमेरिकी सेनाले इरानभित्रका रणनीतिक लक्ष्यहरूमा कारबाही विस्तार गरेको छ । वासिङ्टनले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को मुख्यालय ध्वस्त पारेको जनाएको छ । इरानले त्यसको जवाफमा इजरायल, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र अन्य खाडी मुलुकतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेको छ । तेल अभिव नजिक र बेत सेमेश क्षेत्रमा भएको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । जेरुसेलममा पनि घाइते भएका छन् ।
दोहा, दुबई र मानामामा समेत विस्फोटका खबर आएका छन् । खाडी क्षेत्रमा भएका जवाफी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ । इरानभित्र रेड क्रिसेन्टका अनुसार पछिल्ला आक्रमणमा २०१ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । इरानी न्यायपालिकाले खामेनीका सल्लाहकार अली शामखानी र रिभोलुसनरी गार्ड्सका प्रमुख जनरल मोहम्मद पाकपुर मारिएको पुष्टि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, १२ : ११
लेखकबाट थप