काठमाडौँ । कुमार इङ्नामले मतदानपछिको मतगणना प्रक्रियासम्म कुनै पनि प्रकारको सुरक्षा चुनौती उत्पन्न हुन नदिन सरकार सचेत र तयारी अवस्थामा रहेको बताएका छन् ।
मौन अवधिसम्बन्धी विषयमा प्रेस काउन्सिल नेपालद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री इङ्नामले निर्वाचन अवधिभर अपनाइने सुरक्षा रणनीति संवेदनशीलताको मूल्यांकनका आधारमा तय भई कार्यान्वयनमा रहेको जानकारी दिए । विगतका केही निर्वाचनमा मतगणना स्थलमा समेत सुरक्षा सम्बन्धी प्रश्न उठेको स्मरण गर्दै उनले यसपटक त्यस्तो अवस्था दोहोरिन नदिन विशेष सतर्कता अपनाइएको उल्लेख गरे ।
निर्वाचन प्रक्रियामार्फत राष्ट्रिय असन्तोष तथा विगतका आन्दोलनका मुद्दाहरू सम्बोधन गर्न सकिने विश्वास व्यक्त गर्दै उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै पक्ष सजग रहनुपर्ने बताए ।
उक्त कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि निर्वाचन सम्पन्न हुने विषयमा अन्योल नरहेको स्पष्ट पारे । उनले सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार तीव्र रूपमा फैलिरहेको उल्लेख गर्दै नियमन र नियन्त्रणका लागि आयोगले सक्रिय पहल गरिरहेको जानकारी दिए । सञ्चार क्षेत्रले समेत दुष्प्रचार नियन्त्रणमा सहयोगी भूमिका खेल्नुपर्ने उनले अपेक्षा व्यक्त गरे ।
उनका अनुसार कृत्रिम बुद्धिमत्तामार्फत तयार गरिएका डिपफेक सामग्रीको प्रयोग उल्लेख्य रूपमा बढेको छ । आयोगको विवरणअनुसार शुक्रबारसम्म ६१२ वटा हानिकारक प्रकृतिका सामग्री पहिचान गरी निगरानीमा राखिएको छ र ती विषयमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ फागुन २०८२, १४ : १२
लेखकबाट थप