काठमाडौँ । गत भदौ अन्तिम साताको जेन जेड आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो । सोही बमोजिम सरकारले आफ्नो पहिलो प्राथमिकता निर्वाचनलाई बनायो र संवैधानिक व्यवस्थाअनुरूप नै ६ महिनाभित्रै निर्वाचन सम्भव पनि हुँदैछ । यही फागुन २१ गते हुन गइरहेको निर्वाचनका अब केही दिन मात्र बाँकी छन् । नेपाल सरकार तथा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताएको छ ।
शान्ति सुरक्षा निर्वाचनको प्रमुख आधार र आवश्यकता हो । नेपाल सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले विना कुनै अवरोध, निर्धक्क र निर्भयका साथ मतदान गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्दै निर्वाचनमा पूर्ण सुरक्षा प्रबन्ध गरिएको बताउछन् । विशेषगरी निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्थामा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।
यतिखेर मुलुक निर्वाचनमय भएको छ । आसन्न निर्वाचनका अब केही दिन मात्र बाँकी छन् । निर्वाचनको तयारी के कस्तो छ ?
वर्तमान सरकारको पहिलो प्राथमिकता र मुख्य ‘एजेन्डा’ नै भनौँ समयमै निर्वाचन सम्पन्न गर्नु हो । निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको छ । धेरै अघि नै निर्वाचन आयोगले ९० प्रतिशत काम सकिइसकेको बताएको थियो र अब त्यो पनि पूर्ण भइसकेको अवस्था छ । अब मलाई लाग्छ २१ गते मतदान गर्ने प्रक्रियागत काम मात्र बाँकी छ, अरू तयारी सकिएको छ । सुरक्षाको कुरा गर्दा पनि एकीकृत सुरक्षा योजना धेरै पहिलेदेखि नै लागू भइसकेको छ र त्यसलाई कुशलतापूर्वक गृह प्रशासनले ‘ह्यान्डल’ गरिरहेकाले सुरक्षाको अवस्था पनि मजबुत भइसकेको छ । यसरी सुरक्षादेखि राज्यका अन्य आवश्यक स्रोतसाधनहरू पनि निर्वाचन प्रयोजनका लागि परिचालित भइसकेको छ ।
निर्वाचनको प्रमुख आधार र आवश्यकता भनेको सुरक्षा नै हो । निर्वाचन आयोगले चुनावसम्बन्धी प्रक्रियागत कामहरू गरिरहँदा यता नागरिकले भर गर्ने भनेको सुरक्षाको हो । त्यसैले नागरिकले ढुक्क भएर मतदान गर्न पाउनेगरी मुलुकको सुरक्षा संयन्त्र के कसरी परिचालित भएको छ ?
आसन्न निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । त्यसैले म सबै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह पनि गर्दछु । मैले अघि नै भनिसकेँ कि सरकारको प्रमुख प्राथमिकता नै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाएका छौँ । सरकारले निर्वाचन प्रहरी छनोटदेखि लिएर नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने काम गरेको र धेरै पहिलेदेखि नै एकीकृत सुरक्षा योजना लागू गरेर त्यसै बमोजिम सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाएको छ । जस्तो कि निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द्र, प्रदेश तथा जिल्लास्तरमा रहेर काम गरिरहेका छन्, एकीकृत सुरक्षा योजनाले परिकल्पना गरेका संयन्त्रहरूमार्फत सोही बमोजिम निर्वाचन सेलहरू पनि परिचालन गरिएको छ भने गृह प्रशासनले दिनहुँजसो अवस्था, आवश्यकता र चुनौतीहरूको विश्लेषण गरेर सुरक्षालाई केन्द्रमा राखेर काम गरिरहेको छ । गृह मन्त्रालयले निर्वाचनसम्बन्धी एकीकृत सुरक्षा योजना बनाइसकेपछि त्यसले नै विभिन्न संयन्त्रहरूको परिकल्पना गरेको छ । ती संयन्त्रहरू गठन भएर चुस्त–दुरुस्त रूपमा काम गरिरहेका छन् । दिनहुँजसो बैठक बसेर ती सबै संयन्त्रहरुबीच समन्वय गरेर सुरक्षाको रणनीतिका कामहरू गरिएको छ । यसबमोजिम हरेक दिनका घटनाहरूको मूल्याङ्कन र विश्लेषण पनि गरिरहेका छौँ
अरू सरोकारवालाहरू जस्तै राजनीतिक दल, उम्मेदवार, मिडियाजगत्, निर्वाचन आयोग, सरकारका अरू निकायहरू आदिसँग पनि हामीले निरन्तर समन्वय र सहकार्य भइरहेको छ ।
पछिल्लो समयमा सुरक्षा खल्बलिनसक्ने खालका केही छिटपुट घटनाहरू पनि देखिएको छ । तिनले निर्वाचनलाई असर त गर्दैन रु तिनको समयमै समाधानका लागि गृह प्रशासनले के गरिरहेको छ ?
हालै मुलुकका केही भूभागमा देखिएका केही छिटपुट झडप लगायतका घटनाले निर्वाचनलाई कुनै असर गर्दैन । ती घटनाहरू नियन्त्रणभित्रै छन् र चुनावलाई असर नपार्ने किसिमले गृह प्रशासनले तिनको व्यवस्थापन र समाधान गरिरहेको छ । यस्ता घटनालाई प्रकट हुनुभन्दा अगाडि नै र प्रकट भइसकेपछि पनि हामीले सम्बोधन गरिरहेकै छौँ । हामीले पूर्वसूचना लिने र रोकथामकै चरणमा बढी मेहनत गर्ने र तिनको सम्बोधन गर्ने गरेका छौँ । सकेसम्म संवादबाट नै समाधान खोज्ने काम गरेका छौँ । अन्य आवश्यक रणनीति लिएका छौँ र समयमै समाधान गरेका छौँ । यी घटनाबाट निर्वाचनको सुरक्षामा कुनै असर गर्दैन । त्यस्ता घटना धेरै होइन, छिटपुट हुन् र सबै परिस्थिति काबुभित्रै छ ।
मानिसहरू अहिले पनि सुरक्षाको कुरा गर्दा गत भदौको जेन जेड आन्दोलनका क्रममा भागेका कैदी बन्दी र लुटिएका हतियारहरू सुरक्षाका चुनौती छन् भन्ने गरेका छन् । के त्यस्तो अवस्था हो र ?
यो त्यति ठूलो चुनौती होइन । गत भदौको जेन जेड आन्दोलनका क्रममा भागेका कैदी बन्दी एवं लुटिएका हतियारहरू अब सुरक्षा चुनौतीका रूपमा छैनन् भनेर स्पष्ट गर्न चाहन्छु । धेरैजसो हतियार र भागेका कैदी बन्दी हामीले फिर्ता गरिसकेका छौँ । जे जति बाहिर हुनुहुन्छ उहाँहरूलाई पनि फिर्ता गराउन पहिलाभन्दा अझ बढी मेहनत गरिरहेका छौँ । सबैतिर सुरक्षाकर्मी परिचालित छन् र सरोकारवालाहरू आफैँ पनि लागिपर्नु भएको छ । उहाँहरूलाई पनि त्यस्तो कुनै सूचना भएमा दिन अनुरोध गरिरहेकै छौँ । भागेकाहरूले बाहिर गएर फेरि अपराध गरेका तथा ती हतियार प्रयोग गरेका सूचना अहिले आएको छैन । त्यसैले अब त्यस खालको असुरक्षाको कुनै भय छैन ।
यो राज्यको एक अत्यन्तै फरक परिस्थितिले जन्माएको सरकार हो । राष्ट्रपतिजीले फागुन २१ मा नै निर्वाचनको मिति तोक्नुको कारण पनि संसद् विघटन भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप नै हो । हामीले संविधानको रक्षा गर्ने र संविधानअनुसार चल्ने शपथ खाएका छौँ । त्यसैले हामीले खाएको निष्ठा जाँचिने गरी नै काम गर्नुपर्छ र समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ । यसबाट हामी या कोही पनि दायाँबायाँ हुने छुट नै छैन ।
अर्को कुरा के हो भने यो सरकार विधिको शासन बहाली गर्ने, सुशासन बहाली गर्ने, जनतालाई दिनुपर्ने सेवा प्रवाहको अवस्थालाई अझ सुदृढ गर्ने र जनताको मन जित्ने बाटोबाट अगाडि बढेको सरकार हो । सरकारले कुनै शासक नभएर सहजकर्ताका रूपमा राज्यस्तरमा समन्वयात्मक रूपमा काम गरिरहेको कुरा त छर्लङ्गै छ, सबैले देखिरहनुभएका छ । हामीले त यो सरकार बनेको भोलिपल्टदेखि नै निर्वाचन आयोगलाई सम्पर्क गरेर मतदाता नामावली अद्यावधिक लगायतका कामबाट निर्वाचन प्रक्रिया सुरु गरेका हौँ । अब मतदानको दिन आइसकेकाले जनताले निर्धक्क भएर मतदान गर्ने बाहेकको अर्को कुनै वैकल्पिक कुरा गर्नु पनि हुँदैन । म भन्छु, जसरी राज्यमा सिर्जना भएको विशेष परिस्थितिमा यो सरकार बन्यो, त्यस्तै विशिष्ट परिस्थितिमा यो निर्वाचन हुन गइरहेको छ । तोकिएकै समयमा निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न हामी लागिपरेका छौँ र सबैले आ–आफ्ना स्थान र कामबाट निर्वाचनलाई सहयोग पुर्याउनुपर्छ भन्ने मेरो आग्रह छ ।
अन्त्यमा, निर्वाचनका अब केही दिनमात्र बाँकी रहँदा एक गृहमन्त्रीको हैसियतले सबै नेपाली नागरिकलाई केही सन्देश दिन चाहनुहुन्छ ?
यो नागरिक सरकार हो, त्यसैले निष्पक्ष सरकार हो । यो सरकारले पहिलेको भन्दा अझै निष्पक्ष र गुणस्तरीय चुनाव गराउनुपर्दछ । स्वतन्त्र ढंगले, निष्पक्ष र भयरहित रूपमा यो सरकारले निर्वाचन सम्पन्न गर्ने हो । त्यसका लागि आवश्यक सबै पूर्वाधारहरू तयार गरिसकेका छौँ । अहिले कानुन कार्यान्वयन गर्न, विधिको शासन बहाली गर्न र सुशासन बहाली गर्न यो सरकारलाई सजिलो छ भन्ने मलाई लाग्दछ । किनभने यहाँ कुनै दलीय दबाब या बाध्यताका कुनै पनि काम हुँदैनन् । त्यसैले निर्धक्क रूपमा मतदान गर्न र आफ्ना क्षेत्रबाट असल प्रतिनिधि चयन गर्न म सबैमा आग्रह गर्दछु । यसपालि हामीले गुणात्मक र सुदृढ सुरक्षा दिन्छौँ । सुरक्षा सुदृढ हुँदै गएको त अहिले नै पनि महसुस भएकै छ । त्यसैले पनि निर्वाचनको समयमा शान्ति सुरक्षाको कुनै पनि द्विविधा नलिन र पूर्णतया शान्तिको महसुस गर्न म फेरि पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रह गर्न चाहन्छु । यो सरकार परिस्थितिले जन्माएको सरकार हो र पूर्ण रूपमा संवैधानिक रिक्तता भएको अवस्थामा त्यसको परिपूर्ति गर्नका लागि बनेको सरकार हो । त्यसैले हामीले निर्वाचनमार्फत् संवैधानिक रिक्तताको पूर्ति गर्न निर्वाचित सरकारलाई चाँडोभन्दा चाँडो सत्ता हस्तान्तरण गर्न आतुर छौँ । यही अवस्था र परिस्थितिलाई बुझेर निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन सबैमा आग्रह गर्दछु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ फागुन २०८२, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री अर्याल
निर्धक्क भएर फागुन २१ को मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आग्रह
भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी नहुने गृहमन्त्री अर्यालको दाबी
सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री अर्याल
निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ’: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट