एजेन्सी । जारी टी-२० विश्वकप अन्तर्गत आज सुपर-८ को चौथो प्रतिस्पर्धामा दुई चिरपरिचित प्रतिद्वन्द्वी वेस्ट इन्डिज र जिम्बाब्वे आमनेसामने हुँदैछन्। मुम्बईको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे सुरु हुने यस खेलमा दुवै टोली जितका साथ सुपर-८ को सुखद सुरुवात गर्ने लक्ष्यमा छन्।
प्रतियोगितामा अस्ट्रेलिया र श्रीलङ्का जस्ता पूर्व विश्व विजेता टोलीलाई स्तब्ध पारिसकेको जिम्बाब्वे अहिले उच्च मनोबलमा छ। 'जायन्ट किलर'को छवि बनाएको जिम्बाब्वेले अब वेस्ट इन्डिजलाई आफ्नो अर्को निशाना बनाउने योजना बुनेको छ।
सन् २०१० मा जिम्बाब्वेले वेस्ट इन्डिजलाई हराएको थियो, जुन टी-२० अन्तर्राष्ट्रियमा क्यारेबियन टोलीविरुद्ध उसको एकमात्र जित हो। आजको खेल जित्दै जिम्बाब्वे करिब १६ वर्षअघिको त्यही इतिहास दोहोर्याउन चाहन्छ।
तर, जिम्बाब्वेका लागि यो यात्रा सहज भने छैन। वेस्ट इन्डिजले लिग चरणका आफ्ना चारै खेल जितेर सानदार प्रदर्शन गरिरहेको छ। टोलीको माथिल्लो र मध्यक्रमका ब्याटरहरू उत्कृष्ट लयमा छन् भने तीव्र र स्पिनर बलरहरूले पनि सन्तुलित प्रदर्शन गरिरहेका छन्।
हालसम्म यी दुई टोलीबीच भएका कुल ४ भेटमा वेस्ट इन्डिजले ३ खेल जितेर आफ्नो दबदबा कायम राखेको छ। सन् २०२२ को विश्वकपमा भएको पछिल्लो भिडन्तमा पनि वेस्ट इन्डिज नै विजयी भएको थियो।
मुख्य खेलाडीमाथि नजर
वेस्ट इन्डिजका लागि शाई होप मुख्य ब्याटरका रूपमा देखिएका छन्, जसले ४ खेलमा १५५ रन बनाइसकेका छन्। बलिङतर्फ युवा बलर शमार जोसेफले ७ विकेट लिएर विपक्षीलाई दबाबमा राखेका छन्।अर्कोतर्फ, जिम्बाब्वेका ब्रायन बेनेट उत्कृष्ट फर्ममा छन्। उनले प्रतियोगितामा १७५ रन बनाउँदै ब्याटिङ सम्हालिरहेका छन्। बलिङमा तीव्र गतिका बलर ब्लेसिङ मुजरबानी जिम्बाब्वेका मुख्य हतियार हुन्, जसले ३ खेलमा ९ विकेट लिएर तहल्का मच्चाइरहेका छन्।
पिच र मौसमको अवस्था
वानखेडे स्टेडियमको पिच सामान्यतया ब्याटिङका लागि स्वर्ग मानिन्छ। यहाँ तीव्र बलरहरूले नयाँ बलबाट केही सहयोग पाए पनि बाउन्ड्री सानो भएकाले ब्याटरहरूले खुलेर रन बनाउन सक्छन्।
रात्रिकालीन खेलमा शीतको भूमिका निर्णायक हुने भएकाले टस जित्ने टोलीले सुरुमा बलिङ रोज्ने सम्भावना प्रबल छ। मौसमविद्का अनुसार आज मुम्बईको आकाश सफा रहनेछ र वर्षाले खेल बिथोल्ने सम्भावना छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ११ फागुन २०८२, ०८ : ०२
लेखकबाट थप