भरतपुर–२५ का १६० बढी राप्रपा कार्यकर्ता नेकपा प्रवेश

सफल खबर संवाददाता

आइतबार, १० फागुन २०८२, १४ : ४२
भरतपुर–२५ का १६० बढी राप्रपा कार्यकर्ता नेकपा प्रवेश

चितवन  । भरतपुर महानगरपालिका–२५ का १६० भन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रेनु दाहालले फुलमाला र अबिर लगाएर स्वागत गरेकी थिइन्।

भरतपुरमा आयोजित कार्यक्रममा विभिन्न टोल तथा वडाबाट आएका राप्रपा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका हुन्। कार्यक्रममा बोल्दै दाहालले विकास र समृद्धिका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरिन्।

उनले भरतपुरमा लागू गरिएको विकास मोडललाई अब समग्र चितवन विकास मोडलका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “भरतपुरको विकासको अनुभवलाई चितवनका सबै क्षेत्रमा विस्तार गर्ने हाम्रो लक्ष्य हो,” उनले भनिन्, “जनताको विश्वास र साथले मात्र समृद्ध चितवन निर्माण सम्भव छ।”

नवप्रवेशी कार्यकर्ताहरूले ‘रेनु जिताउ अभियान’ मा आफूहरू समाहित भई भरतपुरको विकास अनुभवलाई चितवनभर विस्तार गर्न साथ दिने बताएका छन्। उनीहरूले स्थानीयस्तरमा देखिएको पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सहरी व्यवस्थापनको सुधारलाई निरन्तरता दिन नेकपामा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस