काठमाडौं । तीन वर्ष अघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निर्वाचित भईन् । मुख्य दलहरुले जनतामा विश्वास दिलाउन नसकिरहेको बेला असन्तुष्टिको मत सोविताले बटुलिन् । अप्रत्यासित जित निकालिन पनि । उनले मात्र होइन, काठमाडौंको ६, ७, ८ र ललितपुरको ३ नम्बर निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरुले २०७९ को चुनावमा जित निकाले । त्यसबेला काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार रहेका बालेनको जितले उनीहरुलाई चुनाव जित्न बल पुगेको थियो ।
रास्वपाले छोटो अवधीमै निकालेको जितलाई त्यसबेला ‘नयाँ पुस्ताको राजनीति’, ‘नीतिमा आधारित नेतृत्व’ र ‘पुरानो शैलीको विकल्प’ का रूपमा व्याख्या गरियो । कांग्रेस, एमाले, माओवादीका नेताहरुले बाचा एउटा गर्ने तर पूरा नगर्ने गरेको आरोप लगाउँदै रास्वपाका नेताहरुले आफुहरु जे बोल्छौं, त्यही गछौं भन्दै २०७९ को चुनावमा मतदाताकहाँ मत माग्न पुगेका थिए ।
तर जो आएपनि कानै चिरेको भनेझै रास्वपाका नेताहरुपनि चुनाव जितेपछि उही पूरानै नेताहरुकै शैलीमा देखिए । अझ कांग्रेस, एमाले, माओवादीका नेताहरु भन्दा पनि गैहजिम्मेवार कतिपय निर्वाचन क्षेत्रमा रस्वपाकै निर्वाचित नेताहरु नै देखिए । यस्तै मध्येकी एक नेतृ हुन्– रास्वपाकी काठमाडौं २ मा निर्वाचन जितेकी र हाल चितवन ३ मा उम्मेदवार बनेकी सोविता गौतम । सोविताले काठमाडौं २ मा चुनाव जित्न ‘पूराना दलले केही गरेनन्, हामी गछौं’ भन्दै मत मागेकी थिइन् ।
उनले काठमाडौं २ का मतदातासँग पाँच वर्षमा व्यावहारिक शिक्षा, स्वास्थ्य, रोजगारी, जलवायु परिवर्तन र कृषि प्रवर्द्धनका मुद्दामा बलियो पैरवी गर्ने वाचा गरेकी थिइन् । त्यक्तिमात्रै होइन, उनले आफनो चुनावी प्रतिबद्धता पत्रमा खानेपानीमा आफुले जिते निर्वाचन क्षेत्रमा के गर्ने < स्वास्थ्य क्षेत्रमा के गर्ने < सडक पूर्वाधारमा के गर्ने < जस्ता एजेण्डा अगाडी सारेकी थिइन् ।
तर साढे तीन वर्षपछि जब उनी काठमाडौं–२ छोडेर चितवन–३ बाट उम्मेदवार बनेकी छन्, तब काठमाडौं–२ का मतदातामा एउटै प्रश्न घुमिरहेको छ— ‘हामीले जिताएर पठाएको सांसदले हामीलाई के दियो ?
जनताले सांसदबाट विधायिकी कामको मात्र अपेक्षा गरेको हुँदैन । आफनो निर्वाचन क्षेत्रको विकास निर्माण, बजेट, स्थानीय आवाजका बारेमा पनि आफना जनप्रतिनिधिको भूमिको खोजेको हुन्छन् । तर, सोविताले काठमाडौं–२ का स्थानीयको यी कुनै अपेक्षा पूरा गर्न नसकेको अहिले त्यस क्षेत्रका बहुसंख्यक मतदाता बताईरहेका छन् ।
‘पूरानो र नयाँ भनेर जसरी भाष्य निर्माण गर्न खोजियो, त्यही आवाजका साथ जसरी चुनाव जितेर गइयो, त्यसपछि निर्वाचन क्षेत्रमा पहिले जस्तो पनि काम र पहलकदमी भएन,’ काठमाडौं शंखरापुरका स्थानीय कालिका खड्काले बताइन् ।
विविधताको भूगोल, विविध अपेक्षा
काठमाडौं–२ भौगोलिक रूपमा मात्र होइन, सामाजिक र आर्थिक हिसाबले पनि विविधता भएको क्षेत्र हो । बत्तीसपुतली, सिनामंगल, कोटेश्वरजस्ता पूर्ण सहरी बस्तीहरूदेखि कागेश्वरी मनहरा र शंखरापुरका ग्रामीण इलाकासम्म फैलिएको यो निर्वाचन क्षेत्रका समस्या र प्राथमिकता फरक–फरक छन् ।
सहरमा ट्राफिक, ढल, खानेपानी, स्वास्थ्य सेवा र रोजगारी मुख्य चासो हुन् भने काँठ क्षेत्रमा अझै पनि सडक, खानेपानी, विद्यालय भवन, सिँचाइ र आधारभूत पूर्वाधार नै प्रमुख मागका रूपमा छन् । सोविताले गत चुनावमा काठमाडौं २ मा चुनाव जितिरहँदा यस्तै स्थानीयका माग पूरा गराउन आफुले भूमिका खेल्ने बताएकी थिइन् । तर उनको वाचा एकातिर ब्यवहार अर्काेतिर देखियो ।
‘पहिले पहिले जितेकाले बरु केही न केही त गर्न खोजेको जस्तो देखाउँथे, तर सोविताले यस क्षेत्रमा चुनाव जितेर गएपछि त्यस्तो गर्न खोजेको जस्तो पनि केही देखिएन,’ स्थानीय लेखनाथ पुडासैनीले बताए ।
आफुहरुले आफ्नै पहलमा निर्माण गरेको खानेपानीको काममा बोलाउँदासम्म सोविताले आउने चासो नदेखाएको पुडासैनी बताउँछन् । ‘उहाँले (सोविता) जित्नुभयो तर यो साढे तीन वर्षमा एकपटक गाउँपालिकाको भवनमा पनि आएको थाहा छैन । उहाँलाई स्थानीयले डाँछी भद्रपुर खानेपानी आयोजनाको कार्यक्रममा बोलाउँदा पनि आउनु भएन । जबकि त्यो आयोजना स्थानीयको पहलमा भएको हो । पाँच वर्ष लगाएर उक्त आयोजना स्थानीय जनता र स्थानीय सरकारले पूरा गरेको छ । तर, उहाँले कुनै चासो लिनु भएन,’ पुडासैनीले भने ।
त्यसपछि भने स्थानीयहरु नयाँ पनि पूरानै बस्त्रधारण गरेका नेता रहेछन् भन्ने बुझाईमा पुगेको बताउँछन् ।
स्थानीयवासीहरु भन्छन्, …हरेक चुनावमा नयाँ उम्मेदवार आउँछन्, वाचा उस्तै हुन्छन् । तर व्यवहारमा परिवर्तन हुँदैन ।’ सोविता गौतमप्रति काठमाडौं २ मा अहिले देखिएको असन्तोष पनि यही अनुभूतिबाट जन्मिएको देखिन्छ ।
स्थानीयवासीहरूको भनाइमा सोविता गौतमले चुनाव जितेपछि गाउँ÷नगरपालिकाको कार्यक्रममा खासै उपस्थिति जनाइनन् । खानेपानी, सडक, पर्यटन जस्ता ठोस विषयमा बजेट पार्ने वा पहल लिने भूमिका पनि देखाइनन । जनप्रतिनिधिका रूपमा निरन्तर जनसम्पर्क सोविताको कमजोर रह्यो । कतिपय स्थानीयले उनलाई मीठो बोल्ने तर निर्वाचन क्षेत्रमा नदेखिने सांसद भनी टिप्पणी गर्ने गर्छन् ।
काठमाडौं २ मा तीन वर्ष अघि चुनाव जितिरहँदा सोविता गौतमको चुनावी वाचापत्रमा परम्परागत ‘सडक–पुल’ केन्द्रित राजनीतिभन्दा फरक देखिन खोजेकी थिइन् । उनले जोड दिएका मुख्य बुँदाहरू यस्ता थिए–
व्यावहारिक÷व्यावसायिक शिक्षा : नेपाली शिक्षा प्रणालीलाई श्रम बजारसँग जोड्ने, सीपमूलक शिक्षालाई प्राथमिकता दिने
स्वास्थ्य : नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नीतिगत पहल
रोजगारी : युवा पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति
जलवायु परिवर्तन : स्थानीय तहमा देखिने असरलाई राष्ट्रिय बहसमा ल्याउने
कृषि प्रवर्द्धन : साना किसान र आधुनिक कृषि प्रणालीलाई नीतिगत सहयोग कागजमा यी वाचा सशक्त र समयसापेक्ष देखिएका थिए । तर समस्या यहाँबाट सुरु हुन्छ, यी वाचा काठमाडौं–२ का मतदाताले आफ्नो दैनिकीमा कसरी अनुभूति गरे < काठमाडौं–२ का धेरै स्थानीयले सोविता गौतमबारे एउटै कुरा दोहोर्याउँछन्, ‘जितेपछि उनी क्षेत्रमा देखिइनन् ।’ शंखरापुर क्षेत्रका एक स्थानीय भन्छन्, ‘हामीले आयोजना गरेको खानेपानी योजनाको कार्यक्रममा बोलाउँदा पनि आउनु भएन । सांसद भनेको यस्तै बेला साथ दिनुपर्ने हो नि ।’
रास्वपाका केही स्थानीय नेताहरू स्वयं स्वीकार्छन्– सोविता गौतम संसदमा बोलेकी छिन् । नीतिगत बहस, सामाजिक मुद्दा र सुशासनका विषयमा उनले संसदमा आवाज उठाएको रेकर्ड छ । तर समस्या त्यहाँ होइन । समस्या के हो भने संसदमा बोलेको कुरा स्थानीय तहमा देखिएन।
मतदाताको अपेक्षा केवल भाषण सुन्ने होइन, आफ्नो प्रतिनिधि आफनो सुख– दुखमा साथ छ भन्ने अनुभूत गर्ने पनि हो । तर यस विषयमा सोविताको भूमिकासँग काठमाडौं २ का मतदाता सन्तुष्ट देखिएनन । एक स्थानीय युवाको भनाइ छ, ‘उहाँ संसदमा राम्रो बोल्नुहुन्छ । तर हाम्रो गाउँमा सडकको अवस्था जस्ताको तस्तै रह्यो ।’
जनताले खोज्ने आफनो जनप्रतिनिधि भनेको, संसदमा बसेर नीति बनाउने, आवश्यक बजेट निर्वाचन क्षेत्रमा ल्याउने, विकास निर्माणको काममा पहलकदमी लिने र जनताका दुख सुखकाबीच देखिने व्यक्ति हो । तर सोविता यी विषयमा कमजोर देखिइन् ।
मतदाता र जनप्रतिनिधिबीचको यही दूरीले अहिले काठमाडौं २ मा असन्तोषको रूप लिएको छ । सोविताले त अहिले आफनो निर्वाचन क्षेत्र बदलेर चितवन ३ मा उम्मेदवारी दिएकी छिन् । तर, उनले जितेर केही देखाउन नसकेको निर्वाचन क्षेत्रमा अहिले रास्वपा उम्मेदवारलाई सोविताकै बारेमा स्थानीयले सोध्ने जवाफ दिँदाकै हैरानी परेको छ ।
सोविता गौतमले काठमाडौं–२ छोडेर चितवन–३ रोज्नु सामान्य निर्णय होइन । स्थानीयका लागि यो निर्णयले सन्देश दिएको छ– ‘उहाँ यहाँ टिक्न सक्नु भएन ।’ धेरै मतदाता प्रश्न गर्छन्, काम भएको भए क्षेत्र छोड्नु पर्ने थियो र < यसले काठमाडौं–२ मा रास्वपाको राजनीतिक आधारसमेत कमजोर बनाएको विश्लेषण हुन थालेको छ ।
वाचा धेरै, काम शून्य
सोविता गौतमले काठमाडौं २ मा मतदातासँग मत मागिरहँदा आफनो निर्वाचन क्षेत्रका मतदातासँग मुख्यतः ७ बुँदामा केन्द्रीत रहेर मत मागेकी थिइन् । त्यस्तै उनले ५ बुँदामा आफु निर्वाचित भए संसदमा निरन्तर बहस पैरवी गर्ने वाचा गरेकी थिइन् ।
तर उनले जे जति वाचा मतदाताका बीचमा गरेकी थिइन्, त्यसको रिपोर्ट कार्ड केलाउने हो भने कमजोर नतिजा देखाउँछ ।
१_ व्यावहारिक र व्यावसायिक शिक्षा
वाचा के थियो <
– नेपाली शिक्षा प्रणालीलाई श्रम बजारसँग जोड्ने
– सीपमूलक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
– युवालाई पढ्दै कमाउने वातावरण बनाउने
यथार्थ के देखियो ?
काठमाडौं–२ भित्र रहेका सरकारी विद्यालय, क्याम्पस वा सीप विकास केन्द्रसँग जोडिएको कुनै ठोस पहल स्थानीयले देख्न पाएनन्। न त सीप तालिमका लागि बजेट पहल भयो, न त शिक्षा–रोजगारी जोड्ने पाइलट कार्यक्रम आयो । स्थानीय शिक्षकहरू भन्छन्, ‘सांसदबाट शिक्षा क्षेत्रका लागि न प्रभावकारी नीति बन्यो न हाम्रो स्थानीय विद्यालयमा त्यसको कुनै प्रभाव देखियो ।’
२_ स्वास्थ्य : सर्वसुलभ उपचारको वाचा वाचा के थियो ?
– आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा
– नीतिगत सुधारमार्फत उपचार खर्च घटाउने
– प्राथमिक स्वास्थ्य सेवामा जोड
यथार्थ के देखियो ?
काठमाडौं–२ का सहरी क्षेत्रमा निजी अस्पताल प्रशस्त छन्, तर काँठ क्षेत्रमा अझै पनि स्वास्थ्य चौकीको अवस्था कमजोर छ। स्थानीयको गुनासो छ, स्वास्थ्य चौकी स्तरोन्नतिका लागि सांसदस्तरको पहल देखिएन । उपकरण, जनशक्ति र एम्बुलेन्सजस्ता विषय उठेनन् ।
शंखरापुरका एक स्थानीय भन्छन्, ‘स्वास्थ्यलाई प्राथमिकता दिने भन्नुभयो, तर बिरामी हुँदा अझै पनि हामी सहर धाउन बाध्य छौं।’
३_ रोजगारी : युवा पलायन रोक्ने प्रतिबद्धता
वाचा के थियो <
– स्वदेशमै रोजगारी सिर्जना गर्ने
– युवा विदेश जान बाध्य नहुने नीति निर्माण
– स्थानीय सीप र उद्यमलाई प्रोत्साहन
यथार्थ के देखियो ?
काठमाडौं–२ भित्र बेरोजगारी र वैदेशिक पलायन उस्तै छ। न त स्थानीय स्तरमा उद्यम प्रवर्द्धन कार्यक्रम आयो, न त युवालाई लक्षित रोजगारीसम्बन्धी पहल देखियो ।
काठमाडौं क्षेत्र नम्बर २ को सर्वेहरुले नै भन्छन्, यस क्षेत्रका युवाहरुको विदेश पलायन बढ्दो छ । नयाँ रोजगारीको कुनै पहल देखिएन ।
४_ जलवायु परिवर्तन : बहसमा सीमित मुद्दा वाचा के थियो ?
– जलवायु परिवर्तनको असरलाई संसदमा बलियो रूपमा उठाउने
– स्थानीय तहमा देखिने प्रभावलाई राष्ट्रिय नीतिमा समेट्ने
यथार्थ के देखियो ?
संसदमा जलवायु परिवर्तनबारे बोलेको रेकर्ड भए पनि काठमाडौं–२ का स्थानीयले यसको प्रत्यक्ष अनुभूति गर्न सकेनन्। न त बाढी, पहिरो जोखिम न्यूनीकरण, न त पानी संकट समाधानका दीर्घकालीन योजना जनप्रतिनिधिका रुपमा सोविताले भूमिका खेल्न सकिन् । स्थानीयको टिप्पणी छ, ‘जलवायु परिवर्तन ठूला शब्द हुन्, तर यहाँ त पानीको धारो नै छैन।’
५_ कृषि प्रवर्द्धन : कागजमै सीमित आश्वासन
वाचा के थियो ?
– साना किसानको संरक्षण
– आधुनिक कृषि प्रणालीलाई नीतिगत सहयोग
– कृषि उत्पादनमा आत्मनिर्भरता
शंखरापुर र कागेश्वरी मनहराका ग्रामीण वडामा सिँचाइ समस्या उस्तै छ । कृषि बजार र बजारीकरणको अभाव उस्तै छ ।
६_ खानेपानी र सडक : आधारभूत आवश्यकता, कमजोर पहल
वाचा के थियो ?
– खानेपानी संकट समाधान
– सडक र पूर्वाधार सुधारका लागि नीतिगत पहल
यथार्थ के देखियो ?
जहरसिंहपौवा, पटाप, नाङ्लेभारे जस्ता क्षेत्रमा खानेपानी संकट यथावत छन् । कालोपत्रे सडक अझै नपुगेका बस्ती काठमाडौं २ मा अझै पनि छन् । स्थानीयको गुनासो छ, ‘सांसदलाई कार्यक्रममा बोलाउँदा पनि आउनुभएन। पहल त परै जाओस्।’
७_ जनसम्पर्क र उपस्थिती वाचा के थियो ?
– जनतासँग निरन्तर संवाद
– प्रतिनिधिका रूपमा जनताको आवाज बन्ने
यथार्थ के देखियो ?
धेरै स्थानीय भन्छन्, सांसदसँग भेट्ने अवसर नै पाएनन् । जनप्रतिनिधिको उपस्थिति दुर्लभ रह्यो । यसले वाचा भन्दा पनि दूरी बढाएको अनुभूति गरायो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ फागुन २०८२, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोविता गौतमले निर्वाचन आयोगमा किन गरिन् झुठ्ठो विवरण पेश ?
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
संसदमा सोविताको प्रश्न-‘मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने' ?
रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्योः सोविता गौतम