छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०८२, १४ : १३
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

काठमाडौं ।  वरिष्ठ अधिवक्ता सुशील पन्त र उनकी  धर्मपत्नी कुमुदा पन्तले छोराको विहेमा भोज नगरी उक्त रकम  देवघाटधामस्थित गलेश्वर आश्रमलाई दानस्वरुप सहयोग  गरेका छ्न् । शुक्रबार कान्छा छोरा सुयोग्यको कृति घिमिरेका साथ विवाह सुसम्पन्न भए पश्चात् उनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ४० लाख रुपैयाँको चेक गलेश्वर आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजलाई हस्तान्तरण गरेका हुन् ।

‘कमाउने त्यो, दिनलाई नै हो’ लाई आदर्श वाक्य मानेर उनले विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा फजुल खर्च नगरी त्यस्तो रकम परोपकारी एवं जनकल्याणकारी कार्यमा संलग्न संस्थालाई दिने गरेका छन् । यसअघि जेठा छोराको विहे गर्दा पनि उनले भोज नगरी सोबापत खर्च हुने ४० लाख रकमबाट २० लाख रुपैयाँ क्यान्सर केयर फाउन्डेसनलाई र अर्को २० लाख रुपैयाँ पुण्यार्जन फाउन्डेसनलाई दान गरेका थिए ।  

गलेश्वर आश्रम अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले स्थापना गर्नुभएको आध्यात्मिक साधना, सांस्कृतिक संरक्षण र सामाजिक सेवामा समर्पित संस्था हो । आश्रमले पवित्र देवघाटधाममा वेद–वेदाङ्ग विद्यालय, यहाँ बसोबास गर्ने साधक सन्त–तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र र घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज एवं सुन्दर कल्पवास निर्माण गरी सञ्चालन गरिरहेको छ । 

आश्रमले देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ । अतिथिगृहमा निःशुल्क भोजन र बसोबाको सुविधा छ । अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस