एजेन्सी । अमेरिकी अर्बपति जेफ्री एपस्टीनसँगको सम्बन्धका कारण विवादमा तानिएका बेलायती राजकुमार एन्ड्र्यू (एन्ड्र्यू माउन्टब्याटन–विन्डसर) माथि यौन शोषणको अर्को आरोप पनि लागेको छ।
एक दोस्रो महिलाले आफूलाई एपस्टीनले सन् २०१० मा राजकुमार एन्ड्रयूसँग यौन सम्पर्कका लागि बेलायत पठाएको दाबी गरेकी छन्। पीडित महिलाका वकिल ब्राड एडवर्ड्सले बीबीसीलाई दिएको जानकारी अनुसार, यो घटना एन्ड्र्यूको शाही निवास 'रोयल लज' मा भएको थियो।
वकिल एडवर्ड्सका अनुसार ती महिला त्यतिबेला २० वर्षकी थिइन्। राजकुमारसँग रात बिताएपछि उनलाई बकिङ्घम प्यालेसको भ्रमण गराइनुका साथै चियासमेत खुवाइएको दाबी गरिएको छ। शाही निवासभित्रै यौन शोषण भएको आरोप लागेको यो पहिलो पटक हो।
सन् २०१० को यो घटना हुँदा एपस्टीनले अमेरिकामा नाबालिगसँग यौन कार्यमा संलग्न भएको अभियोगमा सजाय काटिसकेका थिए। पीडितका तर्फबाट वकिल एडवर्ड्सले एन्ड्र्यूविरुद्ध देवानी मुद्दा दायर गर्ने तयारी गरिरहेका छन्। उनले राजकुमारको 'शाही पद र सम्मान' खोसिएका कारण पीडितहरूलाई क्षतिपूर्ति दिलाउन गाह्रो भइरहेको र शाही परिवारले पीडितको भलो भन्दा पनि एन्ड्र्यूलाई जोगाउन खोजेको आरोप लगाएका छन्।
राजकुमार एन्ड्र्यूले यी नयाँ आरोपहरूबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि, उनले यसअघि लागेका सबै यस्तै प्रकारका आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्। यसअघि भर्जिनिया जुफ्रेले लगाएको यौन शोषणको मुद्दामा एन्ड्र्यूले सन् २०२२ मा करिब १ करोड २० लाख पाउण्ड तिरेर अदालतबाहिरै मिलापत्र गरेका थिए।
बकिङ्घम प्यालेसले भने पीडितहरूप्रति सहानुभूति रहेको बताए पनि सुरक्षा र गोपनीयताका कारण ती महिलाको प्यालेस भ्रमणबारे पुष्टि गर्न नसकिने जनाएको छ। राजा चार्ल्सले गत वर्ष मात्रै एन्ड्र्यूको शाही पदवी र सुविधाहरू हटाएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ माघ २०८२, ०७ : १४
लेखकबाट थप