राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०८२, ११ : ०३
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं । राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये १७ सदस्यका लागि आज मतदान भइरहेको छ ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ स्थित केन्द्रमा मतदान भइरहेको छ ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

कोशी प्रदेशको खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध भइसकेका छन् । एक पद भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने छन् ।  बाँकी १७ पदमा आज मतदान भएकाे हाे ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदाता गर्नेछन् ।