सर्लाही । मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ। मलङ्गवा-३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन्।
यहाँ दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए। उनका अनुसार सङ्क्रमणको आशङ्का गरिएका २२ जनालाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ।
दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलङ्गवावासीसँग अनुरोध गरेको छ।
दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा. झाले बताए। सो अभियानअन्तर्गत मलङ्गवा–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखाले अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ। समयमै खोप लगाउँदा दादुराजस्तो सङ्क्रामक रोगबाट बच्न सकिने कार्यालयको विश्वास छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ माघ २०८२, ०६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि