प्रतिनिधि सभा निर्वाचन : देशभर ३ हजार ४ सय उम्मेदवार चुनावी मैदानमा

सफल खबर संवाददाता

शनिबार, १० माघ २०८२, ०७ : १२
प्रतिनिधि सभा निर्वाचन : देशभर ३ हजार ४ सय उम्मेदवार चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा  ३ हजार ४ सय ६ जना उम्मेदवार भिड्ने भएका छन् । 

निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ३ हजार १७ पुरुष, ३८८ महिला र अन्यमा १ जना चुनावी मैदानमा होमिएका हुन् ।  

उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ र माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको छ ।

समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । माघ १० गते दाबी विरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी पनि आयोगले दिएको छ ।

प्रतिक्रिया दिनुहोस