काठमाडौँ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी अभियानलाई 'हाई-टेक' र आक्रामक बनाउने तयारी थालेको छ ।
पार्टीले 'मिसन इलेक्सन' अन्तर्गत 'आरएसपी डिजिटल क्याम्पेन रूम' खडा गर्दै ३२१ जना पेशेवर कर्मचारीहरूको माग गरेको छ। परम्परागत राजनीतिक दलहरूले कार्यकर्ताको भरमा चुनाव लड्ने गरिरहेका बेला रास्वपाले भने ठूलो संख्यामा प्राविधिक र रणनीतिक कर्मचारी भर्ती गरेर निर्वाचनलाई आफ्नो पक्षमा पार्ने 'कर्पोरेट' शैली अपनाएको छ।
रास्वपाले सार्वजनिक गरेको विज्ञापन अनुसार यो कुनै सामान्य स्वयम्सेवक परिचालन मात्र होइन, बरु निर्वाचन जित्नका लागि तयार पारिएको एक शक्तिशाली 'साइबर सेना' हो। पार्टीले डेटा साइन्टिस्ट, तथ्याङ्क विश्लेषक, जीआईएस म्यापिङ विज्ञदेखि लिएर कन्टेन्ट क्रिएटर र 'र्यापिड रेस्पोन्स युनिट' सम्मका ३ सय २१ पदमा दरखास्त आह्वान गरेको छ। यसले के संकेत गर्छ भने रास्वपा अब केवल सडकको भिडमा मात्र होइन, सामाजिक सञ्जालको हरेक कुना र डिजिटल दुनियाँमा विपक्षीलाई घेराबन्दी गर्ने रणनीतिमा छ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हिरासतमा परेर हालै अदालतको आदेशमा रिहा भएका थिए। त्यसमाथि काठमाडौँ महानगरका मेयर बालेन शाह र 'उज्यालो नेपाल' का अभियन्ता कुलमान घिसिङसँगको पछिल्लो सहकार्यले पार्टीलाई थप शक्तिशाली बनाएको रास्वपाको निष्कर्ष छ।
बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने आन्तरिक सहमति भएपछि पार्टीले अबको निर्वाचनबाट स्पष्ट बहुमत ल्याएर सरकार बनाउने दाबी गरेको छ। यही 'ह्वीम' लाई जनमतमा बदल्न रास्वपाले यो विशाल डिजिटल संयन्त्र परिचालन गर्न लागेको हो।
यद्यपि, रास्वपाको यो कदम आलोचनामुक्त भने छैन। ३० देखि ६० दिनका लागि मात्र भर्ना गरिने यी कर्मचारीहरूले कस्तो खालको वैचारिक निष्ठा बोक्लान् भन्ने प्रश्न उठेको छ। तलब र पारिश्रमिकको विवरण गोप्य राखिए पनि यति ठूलो संख्यामा कर्मचारी पाल्नका लागि आवश्यक पर्ने मोटो आर्थिक स्रोतको पारदर्शितामाथि विपक्षीहरूले प्रश्न उठाउन थालेका छन्। 'डिजिटल क्याम्पेन रूम' को नाममा विपक्षीहरू विरुद्ध प्रोपागान्डा फैलाउने र 'साइबर बुलिङ' गर्ने जनशक्ति तयार पारिएको त होइन भन्ने आशंका पनि प्रबल छ।
रास्वपाले मागेका कर्मचारीहरूमा 'मेसेज एन्ड न्यारेटिभ डाइरेक्टर' र 'डिजिटल क्याम्पेन स्ट्राटेजिस्ट' जस्ता पदहरू छन्, जसको मुख्य काम नै पार्टीको पक्षमा भाष्य निर्माण गर्नु र विपक्षीको आलोचनालाई निस्तेज पार्नु हो। जेन-जी पुस्ताको साथ र भाइरल म्यानहरूको भीडलाई संगठित गर्दै रास्वपाले निर्वाचनलाई पूर्णतया 'डिजिटल युद्ध' मा परिणत गर्न खोजेको देखिन्छ।
पार्टीले शुक्रबार खुला गरेको आवेदनमा भनिएको छ कि यो 'मिसन इलेक्सन' डेटामा आधारित निर्णय प्रक्रिया र रणनीतिक सुसंगतताका लागि हो। तर, छोटो अवधिका लागि मात्र काम गर्ने गरी मागिएका यी कर्मचारीहरूले चुनावी माहोललाई 'आर्टिफिसियल' तवरले रास्वपाको पक्षमा ढल्काउन खोज्ने जोखिम पनि उत्तिकै छ।
बालेन शाह र कुलमान घिसिङ जस्ता अनुहारहरूलाई देखाएर डिजिटल सेनामार्फत बहुमतको सपना देखिरहेको रास्वपाका लागि फागुन २१ को परीक्षा निकै रोचक हुने देखिन्छ। के रास्वपाको यो 'डिजिटल अस्त्र' ले साँचो लोकतन्त्रलाई मजबुत बनाउला वा यसले केवल भ्रामक सूचना र प्रोपागान्डाको नयाँ खेती सुरु गर्ला, त्यो भने हेर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०८२, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको हो’: रास्वपा
रास्वपा र कुलमान पक्षबीचको एकता भंग, छुट्टाछुट्टै चुनावमा जाने
रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी
रास्वपाको राजनीतिक समायोजन घोषणा सभा जारी
रास्वपाले आज बृहत्तर एकता घोषणा गर्दै
बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)