वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०८२, २१ : ५३
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता एवं आर्थिक संकटको समाधानका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा उनले संसद् पुन:स्थापनाको पछाडि लाग्न नहुने र सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर भयरहित वातावरणमा चुनाव गराउन सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।

कम्युनिष्ट शक्तिबीच एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले वैचारिक दृष्टिकोण निकट रहेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको प्रष्ट पारे ।

उनले मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा, देश विकास तथा जनताको पक्षमा कम्युनिष्टले काम गर्न सक्ने भएकाले उनीहरूलाई एकताबद्ध गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

पार्टी सहसंयोजक माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गरी जनताको समृद्धिका निम्ति आफ्नो पार्टी प्रतिबद्ध रहेकाले अहिले देशभर नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा तथा विश्वास बढेको बताए।

प्रतिक्रिया दिनुहोस