काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरी तीनवटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् । बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएसँगै उनले आफ्नो आगामी यात्रा दलीय राजनीतिमा केन्द्रित हुने औपचारिक घोषणा गरेका हुन् ।
जेन–जी आन्दोलनपछि गठित ‘नागरिक सरकार’ मा विज्ञ मन्त्रीका रूपमा भित्रिएका घिसिङले पछिल्लो समय दलीय आबद्धताका कारण नैतिक प्रश्न झेल्नुपरेको थियो, जसको निकासका लागि उनले पदभन्दा राजनीति रोज्ने निर्णय लिएका हुन् ।
राजीनामासँगै घिसिङ अब औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत आगामी फागुन २१ गते हुने निर्वाचनमा होमिने भएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले आजदेखि नै आफ्नो नयाँ राजनीतिक जीवन सुरु हुने र ‘उज्यालो नेपाल’ बनाउने अभियानलाई अब राजनीतिक रूपमै अघि बढाउने उद्घोष गरे । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा उठ्न चाहने मन्त्रीहरूलाई पद छोडेर मार्गप्रशस्त गर्न निर्देशन दिएपछि घिसिङले पदभन्दा सिद्धान्त र जनताको चाहनालाई माथि राख्दै बाहिरिने निर्णय लिएका हुन् । उनी आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
आफ्नो करिब चार महिनाको कार्यकालमा घिसिङले विकास निर्माणका बेथितिविरुद्ध केही काम गरे । वर्षौँदेखि अलपत्र रहेका झापाको कन्काई पुलदेखि राष्ट्रिय गौरवको सुनकोशी–मरिन आयोजनासम्मका करिब ६६ वटा रुग्ण ठेक्का तोड्नु उनको कार्यकालको सबैभन्दा साहसिक कदम मानिएको छ । काम नगरी आयोजना बन्धक बनाउने निर्माण व्यवसायीहरूको प्रवृत्तिलाई उनले कडा कारबाहीको दायरामा ल्याए । ऊर्जा क्षेत्रमा वर्षौँदेखि थाती रहेको डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल उठाउने अडान र नेपाल–भारतबीच ५००० मेगावाटसम्म विद्युत् व्यापार गर्न सकिने गरी भएको दूरगामी सम्झौताले उनको प्रशासकीय क्षमतालाई पुन: पुष्टि गरेको छ ।
शहरी विकासतर्फ पनि उनले उल्लेखनीय सुधारको जग बसालेका छन् । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरूको तीव्र पुनर्निर्माण, कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृति र त्रिवि क्रिकेट मैदानको स्तरोन्नति जस्ता काम उनकै नेतृत्वमा सम्भव भए । यस्तै, मेलम्चीको पानी काठमाडौँ ल्याउन देखिएको अवरोध हटाउनेदेखि बीपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउनेसम्मका कार्यले जनतामा आशा जगाएको थियो ।
बुधबार साँझ बालुवाटारमा आयोजित बिदाइ कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले घिसिङको कामको खुलेर प्रशंसा गरिन् । प्रतिकूल अवस्थामा सरकारमा सहभागी भएर घिसिङले मन्त्रालयमा सुशासन र पारदर्शिताका लागि पुर्याएको योगदानलाई देशले सम्झिरहने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले उनलाई सम्मानस्वरूप खादा ओढाउँदै भविष्यको राजनीतिक यात्राका लागि शुभकामना समेत दिइन् । जेन–जी युवाहरूको मागअनुसार नै उनलाई सरकारमा ल्याइएको र निर्वाचनपछि पनि राजनीतिमा जान सक्ने गरी व्यवस्था गरिएको प्रधानमन्त्रीले स्पष्ट पारिन् ।
यद्यपि, घिसिङको बिदाइ पूर्णतः सुमधुर भने रहेन । उनी मन्त्री पदमा रहँदै रास्वपाको उपसभापति बन्ने समझदारी भएको र उनी संरक्षित उज्यालो नेपाल पार्टी रास्वपामा बिलय भएपछि ‘नागरिक सरकार’ को मर्मविपरीत काम गरेको भन्दै आलोचना भइरहेको थियो । राजीनामापछि आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने आरोपलाई उनले नियोजित र भ्रामक भन्दै कडा खण्डन गरेका छन् । राजनीतिमा औपचारिक प्रवेश गरेपछि मात्र पार्टी सदस्यता लिने आफ्नो अडान रहेको उनले स्पष्ट पारे ।
अब उनी रास्वपाको सदस्यता दिएर प्रशासक र मन्त्रीको भूमिकाबाट रूपान्तरित भएर पूर्णकालीन राजनीतिज्ञका रूपमा जनताको बीचमा जानेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, २२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड
निर्वाचन ५९ दिन बाँकी : मुख्य र निर्वाचन अधिकृत माघ २ गतेदेखि क्षेत्रमा खटिने
निर्वाचन ६० दिन बाँकीः आचारसंहिता चुनावमा बालबालिका प्रयोग गर्न पाइँदैन
प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची
निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा
रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूची आजै टुंग्याइने