‘मुलुक दुर्घटनातर्फ जाँदै छ, नयाँमा पनि सत्ताबाहेक अर्थोक देखिएन’ : नेकपा संयुक्त

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०८२, १५ : ४१
‘मुलुक दुर्घटनातर्फ जाँदै छ, नयाँमा पनि सत्ताबाहेक अर्थोक देखिएन’ : नेकपा संयुक्त

काठमाडौँ । घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले मुलुक अस्थिरता र दुर्घटनातर्फ जान लागेको निष्कर्ष निकालेको छ। आज एक वक्तव्य निकाल्दै मुलुकको निकासको लागि छलफल गर्न आह्वान गरेका छन्।

नेकपा संयुक्तले भनेको छ, ‘हाम्रा पुराना पार्टीका नेताहरू बिचौलियाका मतियार भए । ती सबै पार्टीहरू नेताका जमिनदारी जस्ता भए, तिनमा लोकतन्त्र छैन । नयाँ भनिएका पार्टीहरू पनि भरपर्दा देखिएन । तिनीहरूमा विचार-सिद्धान्त त छँदै छैन, जसरी हुन्छ छिटो सत्तामा पुग्ने हुटहुटी बाहेक अर्थोक छैन । तिनीहरूले पद र सत्ताको भागबन्डाका लागि जसरी लुछाचुँडी गरेका छन्, जस्ता चर्तिकला देखाउँदै छन्, त्यसबाट उनीहरू पनि पुराना नेताका नयाँ सन्तान नै हुन् भन्ने देखिन्छ ।’

आजका नयाँ वा पुराना पार्टीका गठबन्धनमध्ये निर्वाचनमा जसले जिते पनि मुलुक अझ डरलाग्दो अस्थिरता र द्वन्द्वको सुरुमा फस्दै गएको उल्लेख छ। देशमा भदौ २३ र २४ गतेजस्ता अरू दुर्घटनाहरू मडराउँदै गरेको निष्कर्ष छ।

भनेको छ, ‘नयाँ भनिएकाहरूसँग सोधौँ-तपाईँको कुन विचार सिद्धान्त र सङ्गठनले हाम्रो राष्ट्रको दुर्गति रोकिन्छ ? यी प्रश्नको उत्तर खोज्न सकिएन भने आगामी निर्वाचनको परिणामले देशलाई केही पनि दिने छैन। हामी हार्दिक अपिल गर्दछौँ । आज नेपालले कस्तो राजनीति, राजनीतिक पार्टी र नेतृत्व खोजेको छ भनेर सार्वजनिक छलफल गरौँ।’

प्रतिक्रिया दिनुहोस